एपिआइएनआइसी फाउन्डेसनद्वारा बागलुङमा सञ्चालित डिजिटल शिक्षा पहलको दीर्घकालीन प्रभाव अवलोकन
बागलुङ । नेपाल इन्टरनेट फाउन्डेसन (एनआइएफ) ले एपिआइएनआइसी फाउन्डेसन (APNIC Foundation) को उदार सहयोगमा बागलुङ जिल्लामा सञ्चालित ‘डिजिटल विभाजन न्यूनीकरण : सूचना तथा सञ्चार प्रविधि (आइसिटी) मार्फत ग्रामीण विद्यालयहरूको सबलीकरण’ नामको परियोजनाको दीर्घकालीन प्रभाव अवलोकन गर्न आएका एपिआइएनआइसी फाउन्डेसन प्रतिनिधिहरूलाई स्वागत गरेको छ ।
१४ डिसेम्बर २०२४ मा सफलतापूर्वक सम्पन्न भएको यो पहलले बागलुङको काठेखोला गाउँपालिका–२, भीमापोखरामा रहेका दुई ग्रामीण विद्यालयमा डिजिटल शिक्षामा दिगो पहुँच प्रदान गर्दै पठनपाठनमा निरन्तर रूपान्तरण ल्याइरहेको छ ।
नेपालको पहाडी भूभागमा रहेका यी विद्यालयहरूले विषम भूगोल र भौगोलिक एकान्तबासका कारण परम्परागत रूपमा गुणस्तरीय शैक्षिक सामग्री र डिजिटल पूर्वाधारमा पहुँच सीमित रहेका समुदायहरूलाई सेवा पुर्याइरहेका छन् । यस्ता चुनौतीपूर्ण परिस्थितिहरूले गर्दा भरपर्दो इन्टरनेट जडान र सूचना प्रविधिमा आधारित सिकाइ सुविधाहरूको उपलब्धता विद्यार्थी, शिक्षक र समग्र समुदायका लागि विशेष रूपमा महत्वपूर्ण बनेको छ ।
यस पहलबाट हाल श्री जनप्रिय आधारभूत विद्यालय र श्री भीमदरबार आधारभूत विद्यालयका १०० जना विद्यार्थी र १९ जना शिक्षक लाभान्वित भइरहेका छन् । कक्षाकोठामा आधारित सिकाइलाई सहयोग गर्नुका साथै परियोजनाले बाह्य वायरलेस एक्सेस पोइन्टहरूमार्फत इन्टरनेट पहुँचलाई विद्यालयबाहिर पनि विस्तार गरेको छ, जसले गर्दा स्थानीय समुदायका सदस्यहरूलाई डिजिटल स्रोत र अनलाइन सेवाहरूमा पहुँच प्राप्त भएको छ । परियोजनाले कम्प्युटर, स्मार्ट सिकाइ उपकरण र भरपर्दो इन्टरनेट जडानसहितका आधुनिक हाई–टेक कक्षाकोठाहरू स्थापना गरेको छ, जसले डिजिटल साक्षरतालाई सुदृढ बनाउन, कक्षाकोठामा सहभागिता बढाउन र प्रविधिमा आधारित शिक्षाका लागि समावेशी अवसरहरू सिर्जना गर्न सहयोग पुर्याएको छ ।
भ्रमणका क्रममा प्रतिनिधिमण्डलले दुवै विद्यालयको अवलोकन गर्दै सूचना तथा सञ्चार प्रविधि (आइसिटी)का सुविधाहरूले दैनिक पठनपाठनमा कसरी निरन्तर सहयोग पुर्याइरहेका छन् भन्ने कुराको प्रत्यक्ष निरीक्षण गरेको छ । प्रतिनिधिमण्डलका सदस्यहरू कक्षाकोठाहरूको अवलोकन गर्नुका साथै शिक्षक, विद्यार्थी, अभिभावक र समुदायका सदस्यहरूसँग अन्तरक्रिया गरेका छन् । उनीहरूले शैक्षिक क्रियाकलापमा डिजिटल प्रविधिको निरन्तर प्रयोगको अवलोकन पनि गरे ।
उक्त भ्रमणले आइसिटी पूर्वाधारहरू पूर्ण रूपमा सञ्चालनमा रहेको र राम्रोसँग संरक्षण गरिएको तथ्य उजागर गरेको छ । शिक्षकहरूले डिजिटल उपकरणहरूले पाठहरूलाई अझ बढी अन्तरक्रियात्मक र आकर्षक बनाएको अनुभव साझा गरेका छन् भने विद्यार्थीहरूले आफ्ना नियमित कक्षागत क्रियाकलापको अंगको रूपमा कम्प्युटर र इन्टरनेट स्रोतहरू प्रयोग गर्ने आत्मविश्वास देखाएका छन् । समुदायका सदस्यहरूले पनि विद्यालय परिसर बाहिरसम्म सिकाइ र अनलाइन जानकारी प्राप्त गर्ने अवसरहरू विस्तार गरेको भन्दै परियोजनाको आउटडोर वायरलेस जडानमार्फत सम्भव भएको सुधारिएको डिजिटल पहुँचको प्रशंसा गरे ।
भ्रमणकै क्रममा श्री जनप्रिय आधारभूत विद्यालयका विद्यार्थीलाई ५० वटा स्कुल ब्याग वितरण गरिएको थियो । विद्यालय व्यवस्थापन समितिले आफ्नो समुदायमा शिक्षाको सुधारका लागि निरन्तर साझेदारी र प्रतिबद्धताको कदर गर्दै प्रशंसाको चिनो प्रदान गरेको छ ।
उक्त भ्रमणले परियोजनाको दीर्घकालीन प्रभाव र दिगोपनलाई पुनर्पुष्टि गरेको छ । परियोजना सम्पन्न भएको एक वर्षभन्दा बढी समय बितिसक्दा पनि दुवै विद्यालयले यसै पहलमार्फत स्थापित आइसिटी कक्षाकोठाहरूको प्रभावकारी रूपमा प्रयोग गरिरहेका छन् । यसले भरपर्दो इन्टरनेट जडान, गुणस्तरीय डिजिटल पूर्वाधार र बलियो सामुदायिक स्वामित्वले नेपालका भौगोलिक रूपमा विकट क्षेत्रहरूमा शैक्षिक अवसरहरूलाई उल्लेख्य रूपमा सुधार गर्न सक्छ भन्ने कुरा देखाएको छ ।
नेपाल इन्टरनेट फाउन्डेसन एपिएनआइसी फाउन्डेसनलाई उसको निरन्तर साझेदारी र अटल सहयोगका लागि हार्दिक आभार व्यक्त गर्दछ । यो पहलको सफलताले सहकार्यत्मक प्रयासहरूले कसरी डिजिटल विभाजनलाई घटाउन, ग्रामीण शिक्षा प्रणालीलाई सुदृढ बनाउन र विकट तथा चुनौतीपूर्ण भूभागमा बसोबास गर्ने बालबालिकाहरूलाई गुणस्तरीय डिजिटल सिकाइका अवसरहरूमा समान पहुँच सुनिश्चित गर्न सक्छ भन्ने कुरा प्रदर्शन गरेको छ ।
एपिएनआइसी फाउन्डेसन एसिया प्रशान्त क्षेत्रको एक अग्रणी इन्टरनेट तथा डिजिटल विकास संस्था हो । यस फाउन्डेसनले सामाजिक–आर्थिक रूपान्तरण र समता प्रवद्र्धन गर्न एसिया प्रशान्त क्षेत्रमा डिजिटल विकासका क्षेत्रमा लगानी र स्रोतसाधन परिचालन गर्छ ।
यो परियोजना फाउन्डेसनको आइएसआइएफ एसिया अनुदान कार्यक्रमद्वारा समर्थित छ । आइएसआइएफ एसिया एपिएनआइसी फाउन्डेसनको प्रमुख अनुदान कार्यक्रम हो, जसले सम्पूर्ण एसिया प्रशान्त क्षेत्रमा सामाजिक–आर्थिक र मानव विकासमा सुधार ल्याउन इन्टरनेट पहुँच, अर्थपूर्ण उपयोगिता र इन्टरनेट प्रविधिको प्रयोगलाई विस्तार गर्ने स्थानीय रूपमा सान्दर्भिक तथा विस्तारयोग्य समाधानहरूमा वित्तीय सहयोग प्रदान गर्दछ ।
यसले व्यावहारिक नवप्रवर्तन, सुदृढ इन्टरनेट पूर्वाधार र उत्थानशीलता, विस्तारित प्राविधिक क्षमता, सञ्चालन अनुसन्धान (अपरेसनल रिसर्च), समावेशी पहुँच, र खुला तथा अन्तर–सञ्चालनयोग्य डिजिटल समाधानहरू प्रदान गर्ने विविध संस्थाहरूलाई सहयोग गर्दछ ।

