याडिया नेपालद्वारा तीन नयाँ विद्युतीय स्कुटर सार्वजनिक, मूल्य कति ?
काठमाडौं । नेपालका लागि याडियाको आधिकारिक वितरक कुजु नेपाल प्रालिले नेपाली बजारमा तीन नयाँ विद्युतीय स्कुटर सार्वजनिक गरेको छ ।
कम्पनीले जीएस७०, जीटी७० र जीटी८० मोडलका स्कुटर सार्वजनिक गरेको हो ।
सार्वजनिक यी स्कुटर आधुनिक प्रविधि, लामो दूरी र उन्नत सुरक्षा सुविधायुक्त विद्युतीय सवारी रहेको दाबी कम्पनीले गरेको छ ।
कम्पनीका अनुसार जीएस७० दैनिक सहरी आवागमनका लागि उपयुक्त मोडल हो । यसमा २.१ किलोवाट–घण्टा क्षमताको ब्याट्री र २.८ किलोवाट क्षमताको मोटर जडान गरिएको छ । एकपटक पूर्ण चार्ज गर्दा १०५ किलोमिटरसम्म यात्रा गर्न सकिने कम्पनीको दाबी छ ।

त्यस्तै, जीटी७० लामो दूरीको यात्रालाई लक्षित गरी ल्याइएको स्कुटर हो । यसमा ५.७ किलोवाट–घण्टा क्षमताको डुअल ब्याट्री प्रणाली र ३.७ किलोवाट क्षमताको मोटर रहेको छ । एकपटक चार्ज गर्दा २२० किलोमिटरसम्म यात्रा गर्न सकिने तथा हटाउन मिल्ने ब्याट्रीको सुविधाले लामो यात्रामा सहजता थप्ने कम्पनीले जनाएको छ ।
प्रिमियम श्रेणीको जीटी८० मा ३.६ किलोवाट–घण्टा क्षमताको लिथियम ब्याट्री, ५ किलोवाट क्षमताको मोटर, प्रतिघण्टा ८० किलोमिटरको उच्च गति र १५० किलोमिटरसम्मको यात्रा क्षमता रहेको कम्पनीले जनाएको छ ।
यी तीनै स्कुटरमा ब्लुटुथ जडान, स्मार्ट डिस्प्ले, मोबाइल नेभिगेसन, मोबाइल एपमार्फत नियन्त्रण, किलेस प्रणाली, ट्र्याक्सन कन्ट्रोल, क्रुज कन्ट्रोल, उकालोमा रोक्ने तथा ओरालोमा गति नियन्त्रण गर्ने प्रणाली र डुअल डिस्क ब्रेकजस्ता सुरक्षा तथा स्मार्ट सुविधा समावेश गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीले तीनै मोडलमा तीन वर्ष वा ५० हजार किलोमिटरसम्मको ब्याट्री वारेन्टी दिएको जनाएको छ । हाल यी स्कुटर देशभरका २० आधिकारिक बिक्रेता केन्द्रबाट उपलब्ध रहेको र आगामी दिनमा सेवा तथा बिक्री सञ्जाल थप विस्तार गरिने जानकारी दिइएको छ ।
स्कुटर सार्वजनिक भएको अवसरमा कम्पनीले नाइमा अटो शो सम्पन्न नहुन्जेल तीनै मोडलमा १० हजार रुपैयाँ छुट दिने घोषणा गरेको छ । ग्राहकले नजिकको आधिकारिक शोरुममा पुगेर परीक्षण सवारी, किस्ताबन्दी सुविधा तथा अन्य जानकारी लिन सक्ने कम्पनीले जनाएको छ ।

