शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको नाफा ८३ प्रतिशतले बढ्यो
काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार अघिल्लो आवको तुलनामा गत आवमा बैंकको नाफामा उछाल आएको देखिएको हो ।
अघिल्लो आवदेखि गत आवसम्म आइपुग्दा एक वर्षको अवधिमा बैंकको खुद नाफा ६४ करोड ५६ लाख रुपैयाँबाट ८२.९७ प्रतिशतले बढेर १ अर्ब १८ करोड १२ लाख रुपैयाँ पुगेको हो । त्यस्तै सोही अवधिमा बैंकको खुद ब्याज आम्दानी पनि २ अर्ब ६४ करोड ४३ लाख रुपैयाँबाट २ अर्ब ८२ करोड ६७ लाख रुपैयाँ पुगेको छ ।
समीक्षा अवधिमा बैंकको खुद फी तथा कमिशन आम्दानी ३० करोड १९ लाख रुपैयाँबाट ३१ करोड १६ लाख रुपैयाँ पुगेको छ भने कुल सञ्चालन आम्दानी २ अर्ब ९७ करोड ७७ लाख रुपैयाँबाट ३ अर्ब १६ करोड ७९ लाख रुपैयाँ पुगेको छ । योसँगै बैंकको सञ्चालन मुनाफा पनि ९१ करोड ११ लाख रुपैयाँबाट बढेर १ अर्ब ७३ करोड ७८ लाख रुपैयाँ नाघेको छ ।
बैंकको प्रतिशेयर आम्दानी १३.२४ रुपैयाँबाट २३.५२ रुपैयाँ पुगेको छ भने खराब कर्जा (एनपीएल) ४.२७ प्रतिशतबाट ४.९३ प्रतिशत पुगेको छ । यता बैंकको वितरणयोग्य मुनाफा ६६ करोड ८५ लाख रुपैयाँबाट ८४ करोड ६५ लाख रुपैयाँ पुगेको छ । बैंकको प्रतिशेयर नेटवर्थ १५९.४८ रुपैयाँ रहेको छ ।
चुक्ता पूँजी ४ अर्ब ८७ करोड ५७ लाख रुपैयाँबाट ५ अर्ब २ करोड १९ लाख रुपैयाँ पुगेको बैंकको रिजर्भ कोषमा २ अर्ब १४ करोड ८ लाख रुपैयाँ सञ्चिति रहेको छ । बैंकले कर्जा लगानी ५६ अर्ब ९० करोड ७१ लाख रुपैयाँबाट ६३ अर्ब २६ करोड ७७ लाख रुपैयाँ पुगेको छ भने निक्षेप संकलन ७१ अर्ब ७६ करोड ७१ लाख रुपैयाँबाट ७७ अर्ब ८५ करोड २६ लाख रुपैयाँ पुगेको छ ।

