स्थानीय बासिन्दालाई १०० रुपैयाँमै जलविद्युतकाे सेयर दिन इप्पानको आग्रह
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले जलविद्युत आयोजनाबाट प्रत्यक्ष प्रभावित स्थानीयवासीलाई उपलब्ध गराइने सेयर अंकित मूल्य अर्थात् प्रति कित्ता १०० रूपैयाँमा उपलब्ध गराउन आग्रह गरेको छ ।
धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को नियम ९ को उपनियम ४ मा स्थानीयहरू लाभान्वित हुन भन्ने उद्देश्यले १० प्रतिशत सेयर दिने गरी कानुनी प्रबन्ध गरिएकोले सो अनुसारनै गर्न पनि सम्पूर्ण सदस्यहरूलाई इप्पानले अनुरोध गरेको छ ।
आयोजना निर्माणका क्रममा जग्गा उपलब्ध गराउने, वातावरणीय तथा सामाजिक प्रभाव सहने, निर्माण अवधिका असुविधा व्यहोर्ने र आयोजनाको सफल कार्यान्वयनमा प्रत्यक्ष सहयोग गर्ने स्थानीय समुदायलाई आयोजना स्वामित्वमा सहभागी गराउने उद्देश्यले नै स्थानीयवासीका लागि सेयरको व्यवस्था गरिएको इप्पानले जनाएको छ ।
जलविद्युत आयोजना केवल लगानीको माध्यम मात्र नभई स्थानीय समुदायसँगको विश्वास, सहकार्य र साझेदारीमा आधारित विकासको अभियान पनि हो । यदि त्यही सेयर प्रिमियम मूल्यमा निष्काशन गरियो भने स्थानीय समुदायको पहुँच सीमित हुने, उनीहरूमा अपनत्वको भावना कमजोर हुने तथा आयोजना र समुदायबीच वर्षौंदेखि निर्माण हुँदै आएको विश्वासको सम्बन्धमा नकारात्मक असर पर्न सक्ने इप्पानको ठहर छ ।
स्थानीयवासीलाई अंकित मूल्यमा सेयर उपलब्ध गराउँदा उनीहरू आयोजनाका वास्तविक साझेदार बन्ने, आयोजनाप्रति स्वामित्व र अपनत्वको भावना अभिवृद्धि हुने, आयोजना निर्माण तथा सञ्चालनका क्रममा देखिने सामाजिक विवाद र अवरोधहरू न्यून हुने, स्थानीय स्तरमा सहयोग र सहकार्य अझ सुदृढ हुने तथा जलविद्युत आयोजनाहरू समयमै सम्पन्न गर्न सहज वातावरण निर्माण हुने विश्वास इप्पानले लिएको छ ।
इप्पानले नेपाल सरकार, सम्बन्धित नियामक निकाय तथा सबै प्रवद्र्धक कम्पनीहरूलाई स्थानीय प्रभावित बासिन्दाको हित, जलविद्युत आयोजनाको दीर्घकालीन स्थायित्व तथा निजी क्षेत्र र स्थानीय समुदायबीचको सुमधुर सम्बन्धलाई सर्वोपरि राख्दै स्थानीयबासीका लागि छुट्याइने सेयर अंकित मूल्य अर्थात् प्रति कित्ता १०० रूपैयाँमै उपलब्ध गराउने नीतिलाई निरन्तर कायम राख्न सम्पूर्ण सदस्यहरुलाई आग्रह गरेको छ ।
साथै, साधारण सेयर निष्काशनसँग सम्बन्धित नियामकीय प्रक्रियालाई सरल, पारदर्शी र समयबद्ध बनाई जलविद्युत क्षेत्रको लगानी वातावरणलाई थप सुदृढ बनाउन इप्पानले सम्बन्धित निकायको विशेष ध्यानाकर्षण गराएको छ ।
सेयर निकाष्शनमा भएको ढिलाईको कारण जलविद्युत आयोजनाहरुले भोगिरहेका समस्या समाधानका लागि समेत समयमै सेयर निष्काशन गर्ने परिपाटीको विकासका लागि नेपाल सरकार र यससँग सम्बन्धित निकायहरुलाई पनि इप्पानले विशेष आग्रह गरेको छ ।

