तराईका घटनाप्रति नाडाको ध्यानाकर्षण, शान्ति र सामाजिक सद्भाव कायम राख्न आग्रह
काठमाडौं । नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले सुनसरीको कप्तानगञ्जसहित तराईका केही जिल्लामा पछिल्लो समय भएका हिंसात्मक घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
बुधबार जारी वक्तव्यमा नाडाले हिंसा, अशान्ति तथा सामाजिक सद्भावमा खलल पुग्ने कुनै पनि गतिविधि स्वीकार्य हुन नसक्ने उल्लेख गर्दै सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेको छ ।
नाडाले नेपाल बहुधार्मिक, बहुभाषिक, बहुजातीय तथा बहुसांस्कृतिक मुलुक भएको उल्लेख गर्दै विविधताभित्रको एकता, सहिष्णुता र भाइचाराको भावना देशको प्रमुख शक्ति रहेको जनाएको छ ।
वक्तव्यमा संविधानले नागरिकलाई आफ्ना विचार, असहमति तथा माग शान्तिपूर्ण र लोकतान्त्रिक माध्यमबाट अभिव्यक्त गर्ने अधिकार सुनिश्चित गरेको भए पनि हिंसात्मक गतिविधि, तोडफोड र अशान्तिले सामाजिक सद्भावसँगै उद्योग–व्यवसाय, लगानी, आर्थिक गतिविधि तथा समग्र अर्थतन्त्रमा नकारात्मक असर पार्ने उल्लेख गरिएको छ । यस्ता घटनाबाट व्यवसायी समुदाय समेत चिन्तित रहेको नाडाले जनाएको छ ।
नाडाले सबै सम्बन्धित पक्षलाई कानुनी र लोकतान्त्रिक प्रक्रियामार्फत संवाद तथा आपसी समझदारीका आधारमा समस्याको शीघ्र समाधान खोज्न आग्रह गरेको छ । साथै, नेपाल सरकार र सम्बन्धित निकायलाई शान्ति सुरक्षा, नागरिकको जीउधनको संरक्षण तथा सामान्य जनजीवन र व्यावसायिक वातावरण यथाशीघ्र सहज बनाउन आवश्यक पहल गर्न अनुरोध गरेको छ ।
नाडाले सामाजिक सद्भाव, राष्ट्रिय एकता, आपसी सम्मान र सहिष्णुतालाई थप सुदृढ बनाउन सबै नेपालीलाई आ–आफ्नो स्थानबाट सकारात्मक भूमिका निर्वाह गर्न पनि अपिल गरेको छ ।

