‘नास–आईटी एक्स्पो २०२६’ नोभेम्बर २१–२२ मा हुने
काठमाडौं । नेपाल एसोसिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज (नास–आईटी) ले आगामी नोभेम्बर २१ र २२ मा ललितपुरको सानेपामा नास–आईटी एक्स्पो २०२६ आयोजना गर्ने घोषणा गरेको छ ।
नास–आईटीले बुधवार एक्स्पोको घोषणा गर्दै सूचना प्रविधि क्षेत्रका कम्पनी, व्यवसायी, लगानीकर्ता, नीतिनिर्माता, उद्यमी, विद्यार्थी र प्रविधिमा रुचि राख्ने व्यक्तिलाई एकै स्थानमा ल्याउने उद्देश्य रहेको जनाएको छ ।
संस्थाका अनुसार एक्स्पोमा प्रविधि कम्पनीहरूले आफ्ना नयाँ उत्पादन र सेवाको प्रदर्शन गर्नेछन् । साथै, व्यवसाय विस्तार, नयाँ साझेदारी र व्यापारिक अवसर खोज्न पनि एक्स्पो उपयोगी हुने विश्वास गरिएको छ ।
गत वर्ष आयोजित नास–आईटी एक्स्पो २०२५ मा २ हजार ५ सयभन्दा बढी सहभागी र ३० भन्दा बढी प्रविधि कम्पनीको सहभागिता रहेको थियो ।
यस वर्षको एक्स्पोमा सूचना प्रविधिसम्बन्धी प्रदर्शनी, व्यवसायबीच नेटवर्किङ, डिजिटल रूपान्तरण, कृत्रिम बौद्धिकता (एआई), साइबर सुरक्षा र क्लाउड कम्प्युटिङलगायत विषयमा छलफल तथा ज्ञानमूलक सत्र सञ्चालन गरिनेछ।
प्रदर्शनीमा सहभागी हुने, आगन्तुक दर्ता गर्ने, कार्यक्रम तालिका र वक्तासम्बन्धी विस्तृत जानकारी भने आगामी दिनमा सार्वजनिक गरिने नास–आईटीले जनाएको छ ।
नास–आईटी नेपालको सफ्टवेयर तथा सूचना प्रविधि क्षेत्रको प्रतिनिधित्व गर्ने गैरनाफामूलक संस्था हो । संस्थाले सूचना प्रविधि क्षेत्रको विकास, नीतिगत सहजीकरण र क्षमता अभिवृद्धिका लागि काम गर्दै आएको छ ।


