प्युजो मोटरसाइकल्स नेपालद्वारा ‘सोइरे फ्राँसेज’ आयोजना
काठमाडौं । अग्नि ग्रुपअन्तर्गतको प्युजो मोटरसाइकल्स नेपालले फ्रान्सेली संस्कृति, जीवनशैली र ग्राहकसँगको सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले ‘Soirée Française – A Night of French Elegance’ शीर्षकमा विशेष फ्रेन्च फाइन डाइनिङ कार्यक्रम आयोजना गरेको छ।
काठमाडौFस्थित ला टेरासमा आयोजित कार्यक्रममा प्युजोका विशिष्ट ग्राहक, व्यावसायिक साझेदार तथा फ्रान्सेली संस्कृतिप्रति रुचि राख्ने अतिथिहरूको सहभागिता रहेको थियो। कम्पनीका अनुसार कार्यक्रमले फ्रान्सको समृद्ध सांस्कृतिक विरासतलाई सम्मान गर्नुका साथै ग्राहक र साझेदारसँगको सम्बन्धलाई अझ मजबुत बनाउने उद्देश्य बोकेको थियो।
सन् २०२६ को फिफा विश्वकपमा फ्रान्सेली टोलीले प्रदर्शन गरेको समर्पण, दृढता, उत्कृष्टता र एकताको भावनाबाट प्रेरित कार्यक्रमले खेलको नतिजाभन्दा माथि उठेर फ्रान्सेली खेल संस्कृतिको विरासतलाई सम्मान गरेको कम्पनीले जनाएको छ। ती मूल्यहरू प्युजो ब्रान्डको दीर्घकालीन पहिचानसँग पनि मेल खाने कम्पनीको भनाइ छ।
कार्यक्रममा सहभागीहरूले विभिन्न फ्रेन्च परिकार, पेरिस शैलीको सजावट तथा आत्मीय वातावरणमा नेटवर्किङ गर्ने अवसर पाएका थिए। यस अवसरमार्फत प्युजोले आफ्नो फ्रान्सेली सम्पदालाई प्रस्तुत गर्दै ग्राहकप्रति कृतज्ञता व्यक्त गर्नुका साथै नेपालमा प्युजो समुदायसँगको सम्बन्धलाई अझ सुदृढ बनाउने प्रयास गरेको जनाएको छ।
कार्यक्रममा प्युजो मोटरसाइकल्स नेपालका प्रतिनिधिहरूले गुणस्तरीय मोबिलिटी समाधानसँगै अन्तर्राष्ट्रिय स्तरको जीवनशैली अनुभव प्रदान गर्ने तथा प्युजो ब्रान्डले प्रतिनिधित्व गर्ने मूल्य र परम्परालाई निरन्तर अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए।
फ्रान्सेली संस्कृति, मित्रता र उत्कृष्टताको सम्मानमा टोस्टसहित समापन गरिएको कार्यक्रममा सहभागीहरूले प्युजो मोटरसाइकल्स नेपालले आफ्ना ग्राहकसँग निर्माण गर्दै आएको प्रिमियम सम्बन्धलाई अझ मजबुत बनाएको विश्वास व्यक्त गरेका थिए।


