नेपाल टेलिभिजनको स्याटेलाइट खरिद अनियमिततामा महत्वपूर्ण कागजात छानविन समितिको हातमा
काठमाडौं । असहयोग गर्दै आएका कर्मचारीमाथि प्रमुख प्रशासकीय अधिकृत आरती चटौतको हस्तक्षेपपछि नेपाल टेलिभिजनको स्याटेलाइट लिंक खरिदका क्रममा अनियमिततामा छानविन गरिरहेको समितिले केही महत्वपूर्ण कागजात हात पारेको छ ।
तत्कालीन कार्यकारी अध्यक्ष महेन्द्र विष्टको पालामा थाइल्याण्डको पीसीएलसँग भएको स्याटेलाइट खरिदका क्रममा अनियमितता आरोपमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अनुसन्धान गरिरहेको छ ।
स्याटेलाइट खरिदमा भएको अनियमितता अनुसन्धान गर्न मन्त्रालयले गत जेठ २२ गते छानविनका लागि इञ्जिनियर आभाष मास्केको संयोजकत्वमा समिति गठन गरेको थियो ।
उमेश रुपाखेती, टिकाराम कार्की र नविनकुमार मिश्र सदस्य रहेको समितिले लगत्तै पटक पटक नेपाल टेलिभिजन गएर संलग्न कागजात माग गरेको थियो । तर, तत्कालीन खरिदमा संलग्न कर्मचारीहरुले तत्कालीन कार्यकारी अध्यक्ष महेन्द्र बिष्ट तथा खरिदमा संलग्न अन्य अधिकारीको निर्देशनमा छानविन समितिलाई असहयोग गर्दै आएको श्रोत बताउँछ ।
केही कर्मचारीले सहयोग गरे पनि खरिदमा संलग्नको प्रभावमा परेका केही कर्मचारीले असहयोग गरे पछि चटौतले आज एक आकस्मिक बैठक राखेर १४ स्थानमा हस्तक्षेप गरे पछि छानविन समितिले सबै कागजात लिएर गएको टेलिभिजनका एक कर्मचारीले बताए ।
वरिष्ठ अधिकारीहरुको आकस्मिक बैठक डाकेर तत्कालै कागजात नियन्त्रणमा लिइए पछि छानविन समितिलाई अनुसन्धानमा सम्भवतः सहज हुने देखिन्छ । तर पनि अझै पनि केही कागजता लुकाइएको हुन सक्ने समितिको आशंका छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री विक्रम तिमल्सिनाले नेपाल टेलिभिजनमा विगतमा भएका अनियमितताको छानविनका लागि कडा नीति लिएका छन् । तर, विगतकै अधिकारीहरुको प्रभावमा रहेका कर्मचारी लागेपछि नयाँ व्यवस्थापनले हस्तक्षेप गरेर अनुसन्धान समितिलाई सहज बनाएको बुझिएको छ ।
समिति केही दिनमै छानविन प्रतिवेदन बुझाउँदैछ ।


