गृहमन्त्रीको अमलेटमा काँडा भेटिएको लर्ड्स होटललाई ३ लाख रुपैयाँ जरिबाना
चितवन । भरतपुर महानगरपालिका वडा नं १० स्थित लर्ड्स बिजनेस कम्प्लेक्स होटललाई जिल्ला प्रशासन कार्यालय चितवनले ३ लाख रुपैयाँ जरिवाना गरेको छ । यो त्यही होटल हो, जहाँ आज दिउँसो गृहमन्त्री सुधन गुरुङले मगाएको अमलेटमा माछाको काँडा भेटिएको थियो ।
यस घटना र उपभोक्ताहरूको गुनासोका आधारमा सहायक प्रमुख जिल्ला अधिकारीसहितको टोलीले गरेको आकस्मिक अनुगमनका क्रममा उक्त होटलले गुणस्तरहीन सामग्री प्रयोग गरेको पाइएपछि प्रशासनले सो कारबाही गरेको हो ।
अनुगमनका क्रममा होटलले गुणस्तरहीन खाने तेल प्रयोग गरेको, तरकारीको ताजापनमा ध्यान नदिएको र उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पर्ने गरी खानेकुरा उपलब्ध गराएको पनि भेटिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
होटलको उक्त कार्य उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६ र दफा ३८ को व्यवस्था विपरीत पाइएकाले सोही ऐनको दफा ३९ को उपदफा १ को खण्ड (ख) बमोजिम ३ लाख रुपैयाँ जरिवाना गरिएको प्रशासकीय अधिकृत मदन लामा थिङले जानकारी दिए । गृहमन्त्रीज्युको अमलेटमा माछाको काँडा भेटिएकै होटललाई कारबाही गरिएको हो भन्ने रातोपाटीको प्रश्नमा थिङले भने,’हो उक्त होटललाई नै यो हदैसम्मको कारबाही गरिएको हो ।’
जरिवानाका साथै अनुगमन टोलीले होटलबाट बरामद गरेका अखाद्य तथा गुणस्तरहीन खाद्य सामग्रीहरू समेत नष्ट गर्न भनिएको छ । प्रशासनले व्यावसायिक र मर्यादित रूपमा व्यवसाय सञ्चालन गर्न र उपभोक्ताको स्वास्थ्यमा खेलबाड नगर्न सबै व्यवसायीहरूलाई सचेतसमेत गराएको छ ।
सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन भरतपुरमा भइरहेको छ । यसैलाई ध्यानमा राखेर प्रशासनले आकस्मिक रूपमा होटल तथा रेस्टुरेन्टहरूको गुणस्तरमा कडाइ गरिरहेको छ ।



