याडियाले नेपालमा सार्वजनिक गर्यो इभी मोटरसाइकल ‘किनेस’, मूल्य ६ लाख ६० हजार रुपैयाँ
काठमाडौं। इलेक्ट्रिक दुईपांग्रे ब्रान्ड याडियाको बहुप्रतीक्षित प्रिमियम मोटरसाइकल ‘याडिया कीनेस’ नेपाली बजारमा सार्वजनिक भएको छ। नेपालका लागि याडियाको आधिकारिक विक्रेता कुजु नेपाल प्रालिले सोमबार एक कार्यक्रममार्फत नेपाली बजारमा नयाँ मोडेल ‘याडिया कीनेस’ सार्वजनिक गरेको हो।
कम्पनीले नेपाली बजारमा याडिया कीनेसको आधिकारिक अधिकतम खुद्रा मूल्य ६ लाख ६० हजार रुपैयाँ तोकिएको छ।
कम्पनीका अनुसार ‘याडिया कीनेस’ सामान्य दैनिक आवतजावतका लागि मात्र नभई उच्च प्रदर्शन, तीव्र एक्सेलेरेसन, आधुनिक प्रविधि र आकर्षक डिजाइनलाई प्राथमिकतामा राखेर विकास गरिएको विद्युतीय मोटरसाइकल हो। यो विशेषगरी रोमाञ्चक राइडिङ अनुभव, स्पोर्टी डिजाइन र प्रिमियम प्रविधि खोज्ने ग्राहकलाई लक्षित गरिएको कम्पनीको भनाइ छ।
मोटरसाइकलमा ११ किलोवाट क्षमताको मिड–ड्राइभ हाइ–पर्फर्मेन्स मोटर जडान गरिएको छ, जसले ३०० एनएम टर्क उत्पादन गर्छ। कम्पनीका अनुसार यसले ० देखि ५० किलोमिटर प्रतिघन्टाको गति केवल ३ सेकेन्डमा लिन सक्छ भने अधिकतम १०० किलोमिटर प्रतिघन्टाको गति हासिल गर्न सक्षम छ। यसलाई नेपाली बजारमा उपलब्ध उच्च प्रदर्शनयुक्त विद्युतीय मोटरसाइकलमध्ये एकका रूपमा प्रस्तुत गरिएको छ।
यसमा २० डिग्रीसम्मको उकालो सजिलै चढ्न सक्ने क्षमता रहेको कम्पनीको दावी छ, जसले नेपालको भौगोलिक अवस्थाअनुसार विभिन्न सडकमा सहज रूपमा सञ्चालन गर्न सहयोग गर्ने विश्वास गरिएको छ।

मोटरसाइकलमा ४.६ किलोवाट क्षमताको ब्याट्री प्रयोग गरिएको छ। यसमा ४० भन्दा बढी सुरक्षा सुविधायुक्त उन्नत ब्याट्री व्यवस्थापन प्रणाली जडान गरिएको छ, जसले ब्याट्रीको सुरक्षा, ताप व्यवस्थापन, स्थिर कार्यसम्पादन तथा दीर्घकालीन टिकाउपन सुनिश्चित गर्ने कम्पनीको दाबी छ।
विश्वस्तरीय डिजाइन र अत्याधुनिक प्रविधिको सन्तुलन मिलाएका कारण याडिया कीनेसले प्रतिष्ठित ‘रेड डट डिजाइन अवार्ड’समेत जितिसकेको छ।
विश्व बजारमा याडिया लगातार ९ वर्षदेखि विश्वकै नम्बर १ इलेक्ट्रिक दुई–पांग्रे ब्रान्डको रूपमा स्थापित छ। सन् २००१ मा स्थापना भएको याडियाका उत्पादन हाल विश्वका १५० भन्दा बढी देशमा उपलब्ध छन् भने १० करोडभन्दा बढी प्रयोगकर्ता रहेको कम्पनीले जनाएको छ।


