काठमाडौंमा १५० किलोमिटर लामो मेट्रो रेलको योजना बन्दैछ: पूर्वाधार मन्त्री लम्साल
काठमाडौं । पूर्वाधार विकास मन्त्रालयले मेट्रो रेल निर्माणका लागि आह्वान गरेको विस्तृत आयोजना निर्माण प्रतिवेदन (डिपिआर) को टेन्डर रद्द गरेको छ।
रेल विभागले काठमाडौंको नारायण गोपाल चोक–सातदोबाटो–रत्नपार्कको २७.५ किलोमिटर मेट्रो रेल निर्माणको डिपिआर तयार गर्न अन्तर्राष्ट्रिय टेन्डर आह्वान गरेको थियो। सरकारले जेठ ३२ गतेसम्मका लागि यस्तो डिपिआरको आसयपत्र पेस गर्ने समयसीमा तोकेको थियो।
पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले बिहीबार प्रतिनिधिसभा बैठकमा उक्त टेन्डर रद्द भएको जानकारी दिएका हुन्।
‘हामीले मेट्रोको डिपिआरका लागि भर्खरै टेन्डर निकालेका थियौं। तर २७ किलोमिटर मात्र भएकाले स्थगित गर्ने निर्णय गरेका छौं,’ लम्सालले भने।
उनले थानकोटदेखि धुलिखेलसम्म पुग्ने ‘ट्रान्सपोर्टेसन मास्टर प्लान’ को तयारी भइरहेको जानकारी पनि संसदलाई दिए। यो आर्थिक वर्षभित्र तयार भएर डिपिआरका लागि टेन्डर गर्ने उनले बताए।
‘सरकारले कम्तिमा डेढ सय किलोमिटर लम्बाइको मेट्रो रेलको योजना बनाइरहेको छ,’ उनले भने।
श्रम संस्कृति पार्टीका हर्कराज राईले प्रत्येकजसो देशको राजधानीमा मेट्रो रेल हुने भएकाले नेपालमा पनि परिकल्ना गर्नुपर्ने बताएका थिए।
‘मेट्रोको परिकल्पना गरौं। प्राइभेट कार किन्दै लैजाने र सडक विस्तार गर्दै जाने, घर भत्काउँदै जाने चलन अन्त्य गर्नुपर्छ,’ राईले संसद बैठकमा भनेका थिए, ‘रिङरोडमा पनि ट्राफिक जाम हुन थालेको छ।’
सरकारले यस वर्ष मेट्रो रेलका लागि २ अर्ब ७९ करोड ६८ लाख रूपैयाँ बजेट छुट्याएको छ।


