नेपाल टेलिकमको फिफा विश्वकप २०२६ अफर: ९९९ रुपैयाँमै प्रत्यक्ष प्रसारण
काठमाडौँ । नेपाल टेलिकमले आगामी फिफा विश्वकप २०२६ लाई लक्षित गर्दै आफ्ना आइपिटिभी (IPTV) ग्राहकहरूका लागि विशेष ‘फिफा वर्ल्ड कप २०२६ टिभी प्याकेज’ सार्वजनिक गरेको छ।
विश्व फुटबलको सबैभन्दा प्रतिष्ठित प्रतियोगिता फिफा विश्वकप २०२६ का सम्पूर्ण खेलहरूको प्रत्यक्ष प्रसारण हेर्न सकिने गरी टेलिकमले ९९९ रुपैयाँ मूल्यको विशेष प्याकेज उपलब्ध गराएको हो। यस प्याकेजमार्फत एनटिटिभी (NTTV) ग्राहकहरूले विश्वकपका रोमाञ्चक खेलहरूको प्रत्यक्ष आनन्द लिन सक्नेछन्।
नेपाल टेलिकमका अनुसार ग्राहकहरूले आफ्नो टेलिभिजन सेटमा हिमालय स्पोर्ट्स च्यानल छनोट गरेपछि स्क्रिनमा देखिने इन्ट्री पेजमा नेपाल टेलिकमको प्रिपेड वा पोस्टपेड मोबाइल नम्बर प्रविष्ट गर्नुपर्नेछ। त्यसपछि प्राप्त हुने ओटीपी टेलिभिजनमा इन्टर गरेसँगै मोबाइल ब्यालेन्सबाट ९९९ रुपैयाँ कट्टा भई प्याकेज तत्काल सक्रिय हुनेछ। साथै, नजिकैको नेपाल टेलिकम ग्राहक सेवा केन्द्रमार्फत पनि उक्त प्याकेज सक्रिय गर्न सकिने व्यवस्था गरिएको छ।
त्यसैगरी, जेठ २६ गतेदेखि साउन ३ गतेसम्म वार्षिक १०० एमबिपिएस वा सोभन्दा माथिको इन्टरनेटसहितको प्रिमियम आइपिटिभी प्याकेज नयाँ जडान गर्ने, नवीकरण गर्ने वा १०० एमबिपिएसभन्दा कम गतिको प्याकेजबाट उच्च गतिको प्याकेजमा स्तरोन्नति गर्ने ग्राहकहरूले फिफा वर्ल्ड कप २०२६ टिभी प्याकेज बोनसस्वरूप निःशुल्क प्राप्त गर्न सक्नेछन्।
उक्त बोनस प्याकेज प्राप्त गर्न ग्राहकहरूले आफ्नो मोबाइलबाट *1416# डायल गर्न सक्ने नेपाल टेलिकमले जनाएको छ।
नेपाल टेलिकमले आफ्ना ग्राहकलाई उच्च गुणस्तरीय प्रविधिसहित उत्कृष्ट खेलकुद मनोरञ्जन उपलब्ध गराउने प्रतिबद्धता दोहोराउँदै थप जानकारीका लागि नजिकको ग्राहक सेवा केन्द्र, आधिकारिक वेबसाइट तथा सामाजिक सञ्जालमार्फत सम्पर्क गर्न आग्रह गरेको छ।


