‘फिन इलेक्ट्रो–टेक २०२६’ जेठ २२ देखि भृकुटीमण्डपमा, करिब २५ हजारले अवलोकन गर्ने अनुमान
काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघले नेपालको विद्युतीय, इलेक्ट्रोनिक्स, ऊर्जा, सञ्चार, सूचना प्रविधि तथा वैकल्पिक ऊर्जा क्षेत्रको विकास, प्रविधि हस्तान्तरण, औद्योगिक प्रवर्द्धन तथा अन्तर्राष्ट्रिय व्यापार विस्तार गर्ने उद्देश्यका साथ ट्रान्सवेल्ड ट्रान्सफर्मरद्वारा प्रायोजित “फिन इलेक्ट्रो-टेक २०२६” को १२औं संस्करण आयोजना गर्न लागेको जनाएको छ ।
महासंघका अनुसार नेपालकै विद्युतीय तथा ऊर्जा क्षेत्रको सबैभन्दा ठूलो, प्रतिष्ठित तथा बहुप्रतिक्षित प्रदर्शनीका रूपमा स्थापित यो कार्यक्रम २०८३ जेठ २२ गतेदेखि २५ गतेसम्म (५–८ जुन २०२६) काठमाडौंस्थित भृकुटीमण्डप प्रदर्शनी हलमा आयोजना हुनेछ ।
वि.सं. १९९६ देखि निरन्तर रूपमा आयोजना हुँदै आएको फिन इलेक्ट्रो-टेक प्रदर्शनीले नेपालमा विद्युतीय व्यवसाय, ऊर्जा प्रविधि, औद्योगिक विकास तथा नवीनतम प्रविधिहरूको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको महासंघले जनाएको छ । विगत तीन दशकभन्दा बढी समयदेखि सञ्चालन हुँदै आएको यस प्रदर्शनीले उत्पादक, आयातकर्ता, वितरक, निर्माण व्यवसायी, परामर्शदाता, इन्जिनियर, प्राविधिक, सरकारी निकाय, शैक्षिक संस्था तथा उपभोक्तालाई एउटै मञ्चमा ल्याई ज्ञान, प्रविधि र व्यावसायिक अवसरहरूको आदान–प्रदान गर्ने प्रभावकारी प्लेटफर्मका रूपमा आफ्नो पहिचान बनाएको छ ।
नेपालमा जलविद्युत उत्पादन, विद्युत पहुँच विस्तार, औद्योगिकीकरण तथा डिजिटल प्रविधिको प्रयोग तीव्र गतिमा बढिरहेको वर्तमान अवस्थामा सुरक्षित, गुणस्तरीय तथा आधुनिक विद्युतीय सामग्रीको प्रयोग अपरिहार्य बन्दै गएको महासंघले जनाएको छ । विद्युत उत्पादन वृद्धि, प्रसारण तथा वितरण प्रणाली विस्तार, विद्युतीय सवारीसाधन प्रवर्द्धन तथा नवीकरणीय ऊर्जाको प्रयोगलाई प्राथमिकतामा राखिएको सन्दर्भमा “फिन इलेक्ट्रो-टेक २०२६” ले महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ ।
हालै सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/८४ को बजेटले ऊर्जा तथा विद्युतीय क्षेत्रलाई विशेष प्राथमिकता दिएको उल्लेख गर्दै महासंघले विद्युत उत्पादन वृद्धि, प्रसारण–वितरण पूर्वाधार विस्तार, औद्योगिक क्षेत्रमा विद्युत उपयोग वृद्धि, विद्युतीय सवारीसाधन प्रवर्द्धन तथा ऊर्जा आत्मनिर्भरता हासिल गर्ने लक्ष्यलाई व्यवहारमा रूपान्तरण गर्न यो प्रदर्शनी सहयोगी हुने जनाएको छ ।
यस वर्षको प्रदर्शनीमा नेपाल, भारत, चीन लगायत विभिन्न देशका प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनी, उत्पादक संस्था, आयातकर्ता, वितरक तथा प्रविधि प्रदायकहरूको सहभागिता रहनेछ । ऊर्जा, विद्युतीय सामग्री, औद्योगिक स्वचालन, स्मार्ट प्रविधि तथा इलेक्ट्रोनिक्स क्षेत्रका अग्रणी ब्राण्डहरूले आफ्ना नवीनतम उत्पादन तथा प्रविधिहरू प्रस्तुत गर्नेछन् ।
प्रदर्शनीमा ट्रान्सवेल्ड ट्रान्सफर्मर, जनता केबल, लेजर इन्डिया, ग्रेटह्वाइट इलेक्ट्रिकल्स, ब्रिलियन्ट एलईडी, इलेक्ट्रा इलेक्ट्रीक, उषा, एङ्कर, लिपर, स्टेण्डली, के नइन, ओरिएन्ट इलेक्ट्रिक, महालक्ष्मी, चिन्ट, एमजी गोल्ड, सी एण्ड एस इलेक्ट्रिक, प्राइम बायर्स, अर्किड इलेक्ट्रिकल्स लगायतका स्वदेशी तथा बहुराष्ट्रिय ब्राण्डहरूको सहभागिता रहनेछ ।
प्रदर्शनीमा विद्युतीय उपकरण, ट्रान्समिसन तथा डिष्ट्रिब्युसन प्रणाली, ट्रान्सफर्मर, स्विचगियर, केबल तथा तार, ऊर्जा व्यवस्थापन प्रणाली, स्मार्ट होम तथा स्मार्ट बिल्डिङ समाधान, औद्योगिक स्वचालन, एलईडी, विद्युतीय सुरक्षा प्रणाली, सौर्य तथा नवीकरणीय ऊर्जा प्रविधि, ई–मोबिलिटी तथा चार्जिङ पूर्वाधार, सूचना प्रविधि तथा परीक्षण उपकरणहरूको प्रदर्शन गरिनेछ ।
महासंघले प्रदर्शनीको मुख्य उद्देश्य नेपालको विद्युतीय तथा ऊर्जा क्षेत्रको समग्र विकासलाई टेवा पुर्याउनु, स्वदेशी तथा विदेशी उत्पादक, आपूर्तिकर्ता, वितरक र उपभोक्ताबीच व्यावसायिक सम्बन्ध विस्तार गर्नु, नवीन प्रविधिको आदान–प्रदानलाई प्रोत्साहन गर्नु तथा दिगो ऊर्जा र ऊर्जा दक्षताको अवधारणालाई प्रवर्द्धन गर्नु रहेको जनाएको छ ।
यस प्रदर्शनीले युवाहरू, प्राविधिक जनशक्ति तथा उद्यमीहरूलाई नयाँ अवसरसँग जोड्दै नेपाललाई क्षेत्रीय विद्युतीय तथा ऊर्जा व्यापारको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । अवलोकनकर्ताले एकै स्थानमा विभिन्न ब्राण्डका उत्पादनहरूको प्रत्यक्ष जानकारी, तुलना तथा प्रयोग अनुभव लिन सक्नेछन् ।
त्यस्तै प्रदर्शक कम्पनीहरूका लागि यो प्रदर्शनी ब्राण्ड प्रवर्द्धन, नयाँ उत्पादन सार्वजनिक, बजार विस्तार, व्यावसायिक सञ्जाल निर्माण तथा सम्भावित ग्राहकसँग प्रत्यक्ष सम्पर्क गर्ने महत्वपूर्ण अवसर हुने बताइएको छ । यस वर्ष सबै स्टलहरू पूर्वनिर्धारित समयमै बुकिङ सम्पन्न भइसकेको पनि महासंघले जनाएको छ ।
प्रदर्शनी अवधिभर B2B बैठक, अन्तरक्रिया कार्यक्रम, उत्पादन प्रदर्शन तथा प्रविधि प्रस्तुतीकरण जस्ता कार्यक्रमहरू सञ्चालन गरिनेछन् । उद्योगी, इन्जिनियर, प्राविधिक, आर्किटेक्ट, निर्माण व्यवसायी, विद्यार्थी तथा अनुसन्धानकर्ताहरूले नवीनतम प्रविधिबाट प्रत्यक्ष लाभ लिन सक्नेछन् ।
यस वर्षको टाइटल स्पोन्सर ट्रान्सवेल्ड ट्रान्सफर्मर (ट्रान्सवेल्ड नेपाल प्रा. लि.) रहेको छ भने पावर बाई स्पोन्सर रहेको छ । प्लाटिनम स्पोन्सर जनता के.ई.आई. (जनता केबल इन्डस्ट्रिज प्रा. लि.), डायमण्ड स्पोन्सर लेजर इन्डिया तथा ग्रेटह्वाइट इलेक्ट्रीकल्स, र गोल्ड स्पोन्सर ब्रिलियन्ट एलईडी रहेका छन् ।
त्यसैगरी अफिसियल बैंक नबिल बैंक लिमिटेड, अफिसियल इन्स्योरेन्स सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेड, टेक्नोलोजी पार्टनर, इन्टरनेट पार्टनर तथा व्यवस्थापन कम्पनीहरू पनि संलग्न रहेका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स लगायत सरोकारवाला संस्थाहरूको सहयोग रहने यस प्रदर्शनीमा करिब २५ हजार आगन्तुकको सहभागिता रहने अपेक्षा गरिएको छ ।
प्रवेश निःशुल्क भए पनि QR वा लिङ्कमार्फत अनिवार्य रूपमा दर्ता गर्नुपर्ने व्यवस्था गरिएको छ । विद्यार्थी, अनुसन्धानकर्ता, प्राविधिक जनशक्ति तथा आम नागरिकले आधुनिक विद्युतीय तथा ऊर्जा प्रविधिको प्रत्यक्ष अवलोकन गर्न सक्नेछन् ।
नेपाल विद्युतीय व्यवसायी महासंघले सम्पूर्ण सरोकारवालालाई प्रदर्शनी सफल बनाउन सहभागी हुन हार्दिक अनुरोध गरेको छ । साथै प्रदर्शनीको सफल आयोजनाका लागि सहयोग पुर्याउने सबै सरकारी निकाय, प्रायोजक संस्था, प्रदर्शक कम्पनी, सञ्चारमाध्यम तथा अन्य सरोकारवालाप्रति आभार व्यक्त गरिएको छ ।


