बजेट २०८३/८४ : सिबिफिनद्वारा आर्थिक पुनरुत्थानको आशा व्यक्त
काठमाडौँ । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत सरकारले अघि सारेका आर्थिक पुनरुत्थान, निजी क्षेत्रको मनोबल वृद्धि र लगानी प्रवद्र्धनसम्बन्धी नीतिगत तथा संरचनागत सुधारको स्वागत गरेको छ।
सिबिफिनले लामो समयदेखि सुस्त रहेको अर्थतन्त्र, कमजोर निजी क्षेत्रको आत्मविश्वास, लगानीमा देखिएको “पर्ख र हेर” प्रवृत्ति तथा बैंकिङ क्षेत्रमा बढ्दो खराब कर्जाको चुनौतीका बीच प्रस्तुत बजेटले अर्थतन्त्रलाई पुनःचलायमान बनाउने आधार तयार गरेको निष्कर्ष निकालेको छ।
संस्थाले विशेषगरी कर प्रणालीमा गरिएको सुधार, उद्योग व्यवसायलाई दिइएको सहुलियत, डिजिटल अर्थतन्त्रको प्रवद्र्धन, ऊर्जा तथा पूर्वाधार विकासमा जोड, तथा राष्ट्रिय सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गर्ने घोषणालाई सकारात्मक र दूरदर्शी कदमका रूपमा लिएको छ।
त्यस्तै, व्यक्तिगत आयकर छुट सीमा वृद्धि, भन्सार सहजीकरण, वैकल्पिक वित्तीय उपकरणमार्फत पूँजी परिचालन लगायतका व्यवस्थाले आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पार्ने विश्वास सिबिफिनले व्यक्त गरेको छ।
सिबिफिनले बजेटले निजी क्षेत्रलाई आर्थिक वृद्धिको प्रमुख साझेदारका रूपमा स्थापित गर्दै लगानी, उद्यमशीलता र रोजगारी सिर्जनामा महत्वपूर्ण आधार तयार गरेको उल्लेख गरेको छ। साथै, बजेटका नीति तथा कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयनका लागि सरकार–निजी क्षेत्र सहकार्य आवश्यक रहेको पनि जोड दिएको छ।
सिबिफिनले आर्थिक पुनरुत्थान, वित्तीय स्थायित्व र दिगो विकासका लागि सरकारसँग निरन्तर सहकार्य गर्न आफू प्रतिबद्ध रहेको जनाएको छ।


