जेठ २२ गतेदेखि भृकुटीमण्डपमा ‘फिन इलेक्ट्रो–टेक २०२६ आयोजना हुने
काठमाडौं । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा विद्युत, इलेक्ट्रोनिक्स, सञ्चार, सूचना प्रविधि तथा वैकल्पिक ऊर्जा क्षेत्रसँग सम्बन्धित अन्तर्राष्ट्रियस्तरको बृहत् प्रदर्शनी ‘फिन इलेक्ट्रो–टेक २०२६’ आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी हलमा आयोजना हुने भएको छ ।
नेपालमा जलविद्युत उत्पादन, विद्युत पहुँच विस्तार, औद्योगिक विकास तथा डिजिटल प्रविधिको प्रयोग तीव्र रूपमा बढिरहेका बेला सुरक्षित, गुणस्तरीय तथा आधुनिक विद्युतीय सामग्रीको प्रयोगलाई प्रवर्द्धन गर्ने उद्देश्यले प्रदर्शनी आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।
प्रदर्शनीमार्फत उपभोक्ता, व्यवसायी तथा प्राविधिक क्षेत्रलाई नवीनतम प्रविधि, अन्तर्राष्ट्रिय मापदण्ड, सुरक्षा प्रणाली तथा ऊर्जा दक्ष समाधानबारे जानकारी गराइनेछ । साथै स्वदेशी उत्पादन प्रवर्द्धन, विदेशी लगानी आकर्षण, व्यवसायिक नेटवर्क विस्तार तथा अन्तर्राष्ट्रिय व्यापार सहकार्यलाई समेत सुदृढ बनाउने अपेक्षा गरिएको छ ।
चार दिनसम्म सञ्चालन हुने प्रदर्शनीमा नेपालसहित विभिन्न देशका प्रतिष्ठित कम्पनी, उत्पादक, आयातकर्ता, वितरक तथा प्रविधि प्रदायक संस्थाको सहभागिता रहनेछ । कार्यक्रममा ट्रान्समिसन तथा डिष्ट्रिब्युसन सामग्री, स्मार्ट ऊर्जा समाधान, औद्योगिक तथा घरेलु विद्युतीय उपकरण, वायर, केबुल, एलईडी लाइटिङ, स्मार्ट स्विच, सुरक्षा प्रणाली, सौर्य ऊर्जा, अटोमेसन प्रणाली, सूचना प्रविधि तथा अत्याधुनिक इलेक्ट्रोनिक्स सामग्री प्रदर्शन गरिने आयोजकले जनाएको छ ।
प्रदर्शनीले उपभोक्तालाई एउटै स्थलमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डका उत्पादन तुलना गर्न, नयाँ प्रविधिको अनुभव लिन तथा प्राविधिक जानकारी प्राप्त गर्ने अवसर प्रदान गर्ने विश्वास लिइएको छ । सुरक्षित विद्युतीय सामग्रीको प्रयोगबारे जनचेतना अभिवृद्धि गर्न पनि कार्यक्रम उपयोगी हुने अपेक्षा गरिएको छ ।
आयोजकका अनुसार प्रदर्शनीका सम्पूर्ण स्टल बुकिङ सम्पन्न भइसकेका छन् । कार्यक्रममा ट्रान्सवेल्ड ट्रान्सर्फमर टाइटल स्पोन्सर, ह्याभेल्स पावर बाई तथा जनता केईआई प्लेटिनम स्पोन्सरका रूपमा रहेका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्सलगायत विभिन्न संस्थाको सहकार्य रहने प्रदर्शनीमा उद्योगी, व्यवसायी, प्राविधिक, इन्जिनियर, विद्यार्थी, सञ्चारकर्मी तथा सर्वसाधारण गरी हजारौं आगन्तुक सहभागी हुने अपेक्षा गरिएको छ ।


