नेपालमा आरोप–प्रत्यारोपको राजनीति र निजी क्षेत्रप्रतिको अविश्वास : अब बहस बदलिनुपर्छ
नेपालमा लामो समयदेखि एउटा प्रवृत्ति दोहोरिँदै आएको छ — वाद, विचार, नाराबाजी र आरोप–प्रत्यारोपको राजनीति। जनताको वास्तविक भावना, आवश्यकता र भविष्यको दिशाभन्दा पनि कसले कसलाई दोष दिने, कसले कसलाई कमजोर देखाउने भन्ने प्रतिस्पर्धा बढी देखिन्छ।
भाषणमा क्रान्ति र व्यवहारमा अस्थिरता देखिँदा आम नागरिक आजित बन्न पुगेका छन्। हरेक परिवर्तनको नाममा नयाँ नारा आउँछ, नयाँ आशा बाँडिन्छ, तर परिणाममा फेरि उही निराशा दोहोरिन्छ। राजनीतिक ध्रुवीकरणको बीचमा जनताको भावना माथि खेल्ने, भावनात्मक ब्ल्याकमेलिङ गर्ने र भीडलाई उत्तेजित बनाउने संस्कार बढेको देखिन्छ।
सामाजिक सञ्जालदेखि सार्वजनिक मञ्चसम्म “हाम्रो पक्ष राम्रो, अर्को पक्ष खराब” भन्ने मानसिकताले स्वस्थ बहसलाई कमजोर बनाएको छ। अझ दुःखद कुरा त के छ भने, देशको शिक्षा, स्वास्थ्य र निजी क्षेत्रलाई नै बारम्बार शंका, धम्की र त्रासको वातावरणमा राख्ने काम गरिन्छ। निजी विद्यालय खोले “व्यापारी” भनिन्छ, अस्पताल चलाए “नाफाखोर” भनिन्छ, उद्योग खोले “शोषक” भनिन्छ। तर प्रश्न उठ्छ — यदि निजी क्षेत्र नै कमजोर बनाइयो भने रोजगारी कसले सिर्जना गर्ने? कर कसले तिर्ने? आर्थिक गतिविधि कसले बढाउने? वास्तवमा राज्य र निजी क्षेत्र एकअर्काका प्रतिस्पर्धी होइनन्, सहयात्री हुन्।
विकसित राष्ट्रहरूको इतिहास हेर्दा औद्योगिक क्रान्ति, प्रविधिको विकास, रोजगारी विस्तार र आर्थिक समृद्धिमा निजी क्षेत्रको ठूलो भूमिका देखिन्छ। नेपालमा भने निजी क्षेत्रलाई दीर्घकालीन रूपमा विश्वास गर्ने वातावरण कम बनाइयो। नीति स्थिर भएन, लगानी सुरक्षित भएन, र व्यवसाय गर्ने मानिसलाई सम्मानभन्दा शंका बढी गरियो। अर्को महत्वपूर्ण बहस जुन नेपालमा कम चल्छ, त्यो हो — “व्यवसायिक पुस्तान्तरण”। संसारका सफल उद्योग र व्यापारहरू एक पुस्ताबाट अर्को पुस्तामा व्यवस्थित रूपमा हस्तान्तरण हुँदै आएका छन्।
परिवार, संस्था र व्यवस्थापनबीच निरन्तरता कायम हुन्छ। तर नेपालमा धेरै व्यवसाय व्यक्ति केन्द्रित भए। नयाँ पुस्तालाई उद्यमशीलता, व्यवस्थापन र उत्पादनमुखी सोच हस्तान्तरण गर्ने संस्कार बलियो बन्न सकेन। परिणामस्वरूप उद्योगहरू टिकाउ बन्न सकेनन् र ठूलो औद्योगिक क्रान्तिको आधार तयार भएन। हामी अझै पनि उत्पादनभन्दा उपभोगमा, दीर्घकालीन योजनाभन्दा तात्कालिक नारामा, र सहकार्यभन्दा आरोपमा बढी अल्झिरहेका छौँ।
देश बनाउने काम केवल सरकारको होइन, निजी क्षेत्र, शिक्षण संस्था, किसान, युवा, श्रमिक र सम्पूर्ण नागरिकको साझा जिम्मेवारी हो भन्ने चेतना विकास हुन जरुरी छ। अब नेपालमा बहस बदलिनुपर्छ। कसले कसलाई गाली गर्यो भन्ने होइन, कसले रोजगारी सिर्जना गर्यो भन्ने चर्चा हुनुपर्छ। कसले नारा लगायो भन्ने होइन, कसले उत्पादन बढायो भन्ने मूल्यांकन हुनुपर्छ। कसले डर देखायो भन्ने होइन, कसले विश्वास निर्माण गर्यो भन्ने सम्मान हुनुपर्छ। देशलाई भावनात्मक उत्तेजनाले होइन, स्थिर नीति, उत्पादनमुखी शिक्षा, सुरक्षित लगानी वातावरण र सहकार्यको संस्कृतिले अगाडि बढाउँछ।
नेपालले अब दोषारोपणको राजनीति होइन, निर्माणको राजनीति खोजिरहेको छ।
मुरारी प्रसाद भण्डारी अध्यक्ष प्रशान्ती एकेडेमी कपन!


