डोल्पाको छार्का ताङसोङ गाउँपालिकामा नेपाल टेलिकमको फोरजीसेवा
काठमाडौं । नेपाल टेलिकमले डोल्पा जिल्लाको छार्का ताङसोङ गाउँपालिकाको केन्द्र कागकोटमा जेठ ८ गतेदेखि फोरजी सेवा सञ्चालनमा ल्याएको छ । कम्पनीले समुद्री सतहबाट करिब ४ हजार २ सय मिटर उचाइमा रहेको मुकोटस्थित टावरमा फोरजी उपकरण जडान गरी माइक्रोवेभ रेडियोमार्फत सेवा विस्तार गरेको जनाएको छ ।
यससँगै नेपाल टेलिकमको फोरजी सेवा पुगेका स्थानीय तहको संख्या ७५० पुगेको छ । यो माथिल्लो डोल्पामा सञ्चालनमा आएको पहिलो फोरजी साइट हो ।
हालसम्म डोल्पा जिल्लाको डोल्पो बुद्ध गाउँपालिका, शे–फोक्सुन्डो गाउँपालिका तथा मनाङको नार्पा भूमि गाउँपालिकामा फोरजी सेवा विस्तार हुन बाँकी रहेको छ । कम्पनीले निकट भविष्यमा ती क्षेत्रमा पनि सेवा विस्तार गर्ने योजना अघि बढाएको छ ।
फोरजी सेवा विस्तारसँगै अब सो क्षेत्रमा अनलाइन सेवाहरू सहज रूपमा प्रयोग गर्न सकिने भएको छ । यसले स्थानीय बासिन्दा, पदयात्री तथा पर्यटकहरूको सञ्चार पहुँचमा सुधार ल्याउने अपेक्षा गरिएको छ ।
यसका साथै प्रशासनिक, सुरक्षा, स्वास्थ्य तथा शैक्षिक गतिविधिमा समेत सहयोग पुग्ने विश्वास गरिएको छ । दुर्गम हिमाली क्षेत्रलाई आधुनिक डिजिटल सञ्जालसँग जोड्दै समग्र क्षेत्रीय विकासमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ ।
‘राष्ट्रको सञ्चार’को रूपमा रहेको नेपाल टेलिकमले देशका सुगमदेखि अति दुर्गम क्षेत्रसम्म अत्याधुनिक दूरसञ्चार सेवा विस्तार गर्ने प्रतिबद्धता दोहोर्याएको छ ।


