पोखराको नोभा आइसक्रिम खान ‘अयोग्य’, बजारबाट तत्काल फिर्ता लिन विभागको निर्देशन
काठमाडौं। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पोखरा औद्योगिक क्षेत्रमा रहेको फिस्टेल डेरी प्रालिद्वारा उत्पादित नोभा ब्रान्डको आइसक्रिम मानव उपभोगका लागि अयोग्य फेला पारेपछि उक्त खाद्य पदार्थ तत्काल बजारबाट फिर्ता गर्न निर्देशन दिएको छ।
विभागले बजार अनुगमनका क्रममा संकलन गरेको नमुना प्रयोगशालामा परीक्षण गर्दा यस्तो कैफियत भेटिएको हो।
प्रयोगशालामा गरिएको परीक्षण क्रममा उक्त आइसक्रिममा टोटल ब्याक्टेरिया काउन्ट, कोलिफर्म काउन्ट र इन्टेरोब्याक्टेरिएसी काउन्ट जस्ता हानिकारक जीवाणुहरूको उपस्थिति मापदण्डभन्दा बढी भेटिएको छ ।
यस्ता ब्याक्टेरियाको उपस्थितिले मानव स्वास्थ्यमा गम्भीर असर पार्न सक्ने देखिएकाले खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ को प्रावधान बमोजिम यो कदम चालिएको विभागले जनाएको छ ।
पोखरा औद्योगिक क्षेत्रमा रहेको उक्त डेरीबाट उत्पादित ब्याच नम्बर ‘सीओ २’ रहेको १ हजार मिलिलिटरको आइसक्रिम बजारबाट तुरुन्त फिर्ता गर्न आदेश दिइएको छ ।
उत्पादन मिति १९ साउन २०८२ उल्लेख भई १२ महिनासम्म उपभोग्य अवधि रहेको उक्त ब्याचका सबै आइसक्रिम खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ को दफा ३८ को उपदफा २ र ४ बमोजिम बिक्री वितरण नगर्न र नगराउन समेत विभागले सम्बन्धित उत्पादकलाई निर्देशन दिएको छ ।
विभागले उपभोक्ताहरूलाई समेत स्वास्थ्य जोखिम ध्यान दिँदै उक्त ब्याचको उत्पादन प्रयोग नगर्न सचेत गराएको छ ।


