सीजी मोटर्सको ‘महा मेला एक्सचेन्ज कार्निभल’, भृकुटीमण्डपमा एकै थलोमा प्रिमियम ब्रान्ड र विशेष अफर
काठमाडौं । नेपालको विद्युतीय सवारीसाधन बजारलाई थप विस्तार गर्ने उद्देश्यसहित सीजी मोटर्सले राजधानीको भृकुटीमण्डपमा आजदेखि ‘महा मेला एक्सचेन्ज कार्निभल’ सुरु गरेको छ । जेठ ११ गतेसम्म सञ्चालन हुने उक्त कार्यक्रममार्फत कम्पनीले विभिन्न प्रिमियम ईभी ब्रान्डलाई एउटै प्लेटफर्ममा प्रस्तुत गर्दै ग्राहकलाई विद्युतीय सवारीसाधन खरिदतर्फ आकर्षित गर्ने रणनीति अघि सारेको हो ।
नेपालमा पछिल्लो समय विद्युतीय सवारीसाधनप्रति बढ्दो आकर्षण, पेट्रोलियम पदार्थको मूल्यवृद्धि, वातावरणीय सचेतना र सरकारी प्रोत्साहनका कारण ईभी बजार तीव्र गतिमा विस्तार भइरहेको अवस्थामा सीजी मोटर्सले आयोजना गरेको यो कार्निभललाई विशेष महत्वका साथ हेरिएको छ । कम्पनीका अनुसार कार्यक्रम केवल सवारी प्रदर्शनीमा सीमित नभई नेपालमा दिगो, प्रविधिमैत्री तथा वातावरणमैत्री यातायात प्रणालीलाई प्रवर्द्धन गर्ने अभियानको रूपमा समेत अघि बढाइएको हो ।
कार्निभलमा सहभागीहरूले एकै स्थानमा विभिन्न आधुनिक प्रविधियुक्त विद्युतीय सवारीसाधन अवलोकन गर्न पाउनेछन् । कार्यक्रममा रिडारा, दायुन, जीएसी आयन, एक्सपेङ तथा किङलङका १४ सिटर र १६ सिटर ब्लेड ब्याट्री प्रविधियुक्त मोडलहरू प्रदर्शनीमा राखिएका छन् ।
नेपालको अटोमोबाइल बजारमा पछिल्ला वर्षहरूमा ईभी सेग्मेन्ट सबैभन्दा तीव्र रूपमा विस्तार भइरहेको क्षेत्रमध्ये एक बनेको छ । विशेषगरी शहरी क्षेत्रमा चार्जिङ पूर्वाधार विस्तार, सञ्चालन खर्च कम हुने लाभ तथा नयाँ प्रविधिप्रतिको आकर्षणका कारण उपभोक्ताहरू विद्युतीय सवारीतर्फ आकर्षित भइरहेका छन् ।
कार्यक्रम अवधिभर विभिन्न विशेष अफरसमेत उपलब्ध गराइएको कम्पनीले जनाएको छ । ग्राहकहरूले आकर्षक एक्सचेन्ज सुविधा, पुराना सवारीको विशेष मूल्यांकन, सहज फाइनान्सिङ सहयोग तथा विशेष स्वामित्व प्याकेज प्राप्त गर्न सक्नेछन् । पुराना पेट्रोल तथा डिजेल गाडी साटेर नयाँ ईभी खरिद गर्न चाहने ग्राहकका लागि कार्यक्रम अझ उपयोगी हुने विश्वास कम्पनीको छ ।
विशेषगरी व्यवसायी, फ्लीट अपरेटर, सार्वजनिक यातायात व्यवसायी तथा विद्युतीय सवारी खरिदको योजना बनाइरहेका ग्राहकलाई लक्षित गर्दै कार्यक्रम आयोजना गरिएको बताइएको छ । व्यावसायिक तथा सार्वजनिक यातायात क्षेत्रमा ईभीको प्रयोग बढ्दै गएको सन्दर्भमा किङलङका १४ सिटर र १६ सिटर मोडलले यातायात व्यवसायीको ध्यान आकर्षित गर्ने अनुमान गरिएको छ ।
सीजी मोटर्सले नेपालमा विद्युतीय मोबिलिटी क्षेत्रलाई अगाडि बढाउन विभिन्न अन्तर्राष्ट्रिय ब्रान्डसँग सहकार्य गर्दै आएको छ । कम्पनीले नयाँ प्रविधियुक्त सवारीसाधन, बिक्रीपछिको सेवा विस्तार तथा ग्राहक केन्द्रित योजनामार्फत नेपाली बजारमा आफ्नो उपस्थिति बलियो बनाउँदै गएको छ । पछिल्लो कार्निभल पनि सोही रणनीतिको निरन्तरता भएको कम्पनीको भनाइ छ ।


