लक्ष्मी सनराइज क्यापिटलद्वारा एलएस होराइजन १२ फण्ड निष्काशन खुला
काठमाडौं । लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले बैशाख ३० गतेदेखि ‘एलएस होराइजन १२’ नामक नयाँ सामूहिक लगानी योजना सार्वजनिक निष्काशनमा ल्याउने भएको छ। लक्ष्मी सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने यो १२ वर्षे बन्दमुखी योजना विशेषगरी दीर्घकालीन लगानीकर्तालाई लक्षित गरी ल्याइएको हो।
क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यमा कुल १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई निष्काशन गर्न लागेको छ। यसमध्ये १ करोड ८० लाख इकाई कोष प्रबर्द्धक लक्ष्मी सनराइज बैंक लिमिटेडका लागि सुरक्षित गरिएको छ भने बाँकी १० करोड २० लाख इकाई सर्वसाधारण लगानीकर्तालाई बिक्री गरिनेछ।
यस फण्डमा न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड २० लाख इकाईसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ। लगानीकर्ताले जेठ ४ गतेसम्म आवेदन दिन सक्नेछन्, तर तोकिएको अवधिमा सबै इकाई बिक्री नभएमा आवेदन अवधि जेठ १३ गतेसम्म लम्बिन सक्ने क्यापिटलले जनाएको छ।
फण्डको निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड नै रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयमार्फत आवेदन दिन सक्नेछन्। साथै, सीडीएस एण्ड क्लियरिङ लिमिटेडद्वारा सञ्चालन गरिएको ‘मेरो शेयर’ अनलाइन प्रणालीमार्फत सी–आस्बा प्रयोग गरेर पनि आवेदन दिन सकिनेछ।
यस म्युचुअल फण्डका लागि केयर रेटिङ्ग नेपालले कोष प्रबर्द्धकलाई “केयर एनपी ट्रिपल बी प्लस” इस्यूअर रेटिङ्ग प्रदान गरेको छ भने योजना व्यवस्थापकलाई “केयर एनपी एएमसी क्वालिटी ३ प्लस” रेटिङ्ग दिएको छ। यसले फण्ड व्यवस्थापन क्षमता र दायित्व बहन गर्ने क्षमतामा मध्यम स्तरको विश्वसनीयता रहेको संकेत गर्दछ।


