नेपाल टेलिकमको नाफा १० प्रतिशतले बढ्यो
काठमाडौं । नेपाल टेलिकम ले आर्थिक बर्ष २०८२/८३ को तेस्रो त्रैमासिक (असमीक्षित) वित्तीय विवरण सार्वजनिक गर्दै खुद मुनाफा ९.८५ प्रतिशतले वृद्धि भएको जनाएको छ । कम्पनीका अनुसार सञ्चालन आय र कुल आय दुवैमा सामान्य वृद्धि देखिएको छ ।
चालु आ.व. को तेस्रो त्रैमासिकसम्म कम्पनीको कुल सञ्चालन आय रु. २५ अर्ब ९२ करोड ९६ लाख पुगेको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा २.४२ प्रतिशत (रु. ६१ करोड २० लाख) ले बढी हो । त्यस्तै कुल आय रु. २८ अर्ब ८५ करोड ४८ लाख पुगेको छ, जुन गत वर्षको तुलनामा १.४९ प्रतिशत (रु. ४२ करोड ३३ लाख) ले वृद्धि हो ।
कम्पनीका अनुसार EBITDA (व्याज, कर, ह्रासकट्टी र अमोर्टाइजेशन अघिको आम्दानी) रु. १४ अर्ब ३८ करोड २ लाख पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा १.३२ प्रतिशतले बढी हो ।
यसैगरी, चालु आ.व. को तेस्रो त्रैमासिकसम्म खुद मुनाफा रु. ६ अर्ब २७ करोड २९ लाख पुगेको छ, जुन गत वर्षको सोही अवधिको रु. ५ अर्ब ७१ करोड ५ लाखको तुलनामा ५६ करोड २४ लाखले बढी हो । कम्पनीको वार्षिकीकृत प्रति शेयर आम्दानी (EPS) रु. ४६.४७ पुगेको छ, जुन अघिल्लो वर्षको रु. ४२.३ भन्दा ९.९ प्रतिशतले वृद्धि हो ।
मुनाफा वृद्धिको प्रमुख कारणहरूमा ब्याजदर घट्दा ब्याज आम्दानीमा करिब २०.५७ प्रतिशत (रु. ५७ करोड ६६ लाख) को गिरावट भए पनि GSM सेवाबाट हुने राजस्वमा २.७६ प्रतिशत (रु. ५७ करोड ७४ लाख) को वृद्धि भएको उल्लेख गरिएको छ । साथै, ह्रासकट्टी खर्च ८.४६ प्रतिशत (रु. ३८ करोड ६९ लाख) ले घट्दा नाफामा सकारात्मक प्रभाव परेको कम्पनीले जनाएको छ ।
कुल वित्तीय सूचकहरूमा सामान्य सुधार देखिए पनि ब्याज आम्दानी घट्नु कम्पनीका लागि प्रमुख चुनौतीका रूपमा रहेको विश्लेषण गरिएको छ ।

