बिकसित घटनाप्रति निजी क्षेत्रको गम्भिर ध्यानाकर्षण, निजी क्षेत्रमाथि धरपकड बढ्दा लगानी वातावरणमा असर पर्ने चेतावनी
काठमाडौं । नयाँ सरकार गठनसँगै मुलुकमा राजनीतिक स्थिरता कायम भई लगानीमैत्री वातावरण बन्ने अपेक्षा गरिएको अवस्थामा उद्यमी व्यवसायीमाथि भइरहेको धरपकड र थुनछेकप्रति निजी क्षेत्रले गम्भीर चिन्ता व्यक्त गरेको छ।
संयुक्त विज्ञप्ति जारी गर्दै नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्श ले हालको परिस्थितिले निजी क्षेत्र त्रसित भएको बताएका छन्। उनीहरूले अर्थतन्त्रमा ८१ प्रतिशत र रोजगारीमा ८६ प्रतिशत योगदान पु¥याइरहेको निजी क्षेत्र असुरक्षित हुँदा समग्र अर्थतन्त्र, रोजगारी, राजस्व संकलन र पूर्वाधार निर्माणमा गम्भीर असर पर्ने चेतावनी दिएका छन्।
विज्ञप्तिमा नियामकीय निकायका प्रतिवेदनका आधारमा मात्र उद्योगी व्यवसायीलाई पक्राउ गर्ने प्रवृत्तिप्रति आपत्ति जनाइएको छ। आर्थिक कसुरका मामिलामा ‘पहिले सुनुवाइ, त्यसपछि मात्र कसुर प्रमाणित भए कारबाही’ गर्ने सिद्धान्त अपनाउन सरकारसँग माग गरिएको छ।
निजी क्षेत्रले अनुसन्धान प्रक्रियामा पूर्ण सहयोग गर्न तयार रहेको र बोलाइएको समयमा उपस्थित हुने प्रतिबद्धता जनाउँदा जनाउँदै पनि पक्राउ गरिनुले समग्र व्यवसायी समुदायलाई निरुत्साहित बनाएको उल्लेख गरिएको छ। यस्तो अवस्थाले लाखौँ रोजगारी, आपूर्ति शृंखला, बैंकिङ प्रणाली तथा समग्र आर्थिक प्रणालीमै नकारात्मक प्रभाव पर्ने चेतावनी समेत दिइएको छ।
सरकारले पछिल्लो समय नीति तथा कानुन निर्माणमा निजी क्षेत्रलाई सहभागी गराउन थालेको कदमलाई सकारात्मक रूपमा लिइए पनि हाल भइरहेका धरपकडका घटनाले निजी क्षेत्र झन् सशंकित बनेको बताइएको छ। मन्त्रीपरिषद्ले निजी क्षेत्र संरक्षण तथा प्रवद्र्धन रणनीति पारित गरिसकेको अवस्थामा यस्तो व्यवहार विरोधाभासपूर्ण भएको उनीहरूको भनाइ छ।
निजी क्षेत्रले कसुर प्रमाणित भए दोषीलाई कारबाही हुनुपर्नेमा कुनै असहमति नरहेको स्पष्ट पार्दै नेपालको संविधानले सुनिश्चित गरेको ‘कसुर प्रमाणित नभएसम्म निर्दोष’ मानिने सिद्धान्तको सम्मान गर्न सरकारलाई आग्रह गरेको छ।
पछिल्ला चार वर्षदेखि शिथिल बन्दै गएको अर्थतन्त्रलाई नयाँ सरकारको स्थिर नीति र व्यवसायीमैत्री व्यवहारले पुनः गतिशील बनाउने अपेक्षा गरिएको उल्लेख गर्दै निजी क्षेत्रले यस्ता गतिविधिले लगानी वातावरण बिग्रन नदिन ध्यान दिन आग्रह गरेको छ। निजी क्षेत्रको लगानी र उद्यमीहरूको उत्साहबाट मात्र देशलाई समृद्ध बनाउन सकिन्छ,” विज्ञप्तिमा उल्लेख गर्दै सम्बन्धित सबै पक्षलाई यस विषयमा गम्भीर हुन अपिल गरिएको छ।



