नेपालका तीव्र गतिका बलर खोज्दै वर्ल्डलिङ्क द्वारा ‘बीट द स्पीड’ सिजन–३ सुरु
काठमाडौं । नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडले देशभरका उदीयमान तीव्र गतिका बलरहरूको पहिचान र विकास गर्ने उद्देश्यले ‘बीट द स्पीड – सिजन ३’ को औपचारिक घोषणा गरेको छ । ग्रासरुट क्रिकेटलाई सुदृढ बनाउने लक्ष्यसहित सुरु भएको यो अभियान यस वर्ष तेस्रो संस्करणमा प्रवेश गरेको वर्ल्डलिंकले जनाएको छ ।
यस अभियानले युवा खेलाडीहरूलाई आफ्नो गति, सीप र क्षमता प्रदर्शन गर्ने राष्ट्रिय मञ्च प्रदान गर्नेछ । अघिल्ला सिजनहरूको सफलताले नेपाली क्रिकेटमा सकारात्मक प्रभाव पारेको कम्पनीले विश्वास जनाएको छ ।

गत सिजनका विजेता हिक्मत महराले नगद १ लाख रूपैयाँसहित ‘जस्ट क्रिकेट एकेडेमी’ मा प्रशिक्षणको अवसर पाएका थिए। उनी सुदूरपश्चिम रोयल्सबाट ‘आइकनिक प्लेयर’ का रूपमा छनोट भई नेपाल प्रिमियर लिग (NPL) को पहिलो खेलमै विकेट लिएर चर्चामा आएका थिए। त्यस्तै, किरण चन्दले ‘प्रोमिसिङ ट्यालेन्ट’ को रूपमा छनोट भई काठमाडौं गोर्खाजको डेभलपमेन्ट स्क्वाडमा स्थान बनाउन सफल भएका थिए।
देशभरका २३ सहरमा यात्रा
सिजन–३ को राष्ट्रव्यापी यात्रा वैशाख ४ गते जनकपुरबाट सुरु भइसकेको छ । यो अभियानले देशभरका २३ सहरहरू समेट्नेछ । तालिका यस्तो छ-
• वैशाख ४ – जनकपुर
• वैशाख ५ – लहान र राजविराज
• वैशाख ६ – विराटनगर
• वैशाख ७ – दमक
• वैशाख ८ – इटहरी
• वैशाख १० – मलंगवा र गौर
• वैशाख ११ – सिमरा र वीरगञ्ज
• वैशाख १२ – हेटौंडा र चितवन
• वैशाख १३ – बुटवल
• वैशाख १४ – भैरहवा
• वैशाख १५ – लमही र घोराही
• वैशाख १६ – नेपालगञ्ज
• वैशाख १७ – सुर्खेत
• वैशाख १९ – धनगढी
• वैशाख २० – महेन्द्रनगर
• वैशाख २२ – बैतडी (पहिलो पटक समावेश)
• वैशाख २४ – पोखरा
• वैशाख २६ – काठमाडौं
यस सिजनलाई थप रोचक बनाउन चर्चित अन्तर्राष्ट्रिय क्रिकेट कमेन्टेटर एन्ड्र्यू लियोनार्ड सहभागी हुँदैछन् । उनले केही सहरहरूमा खेलाडीसँग अन्तरक्रिया गर्ने र काठमाडौंमा हुने ग्रान्ड फाइनल होस्ट गर्ने वर्ल्डलिङ्कका चिफ मार्केटिङ अफिसर Tenzin Choegyal जानकारी दिए । प्रतियोगिताको निर्णायकमा पूर्व कप्तान ज्ञानेन्द्र मल्ल र प्रशिक्षक कलाम अली छन्।

प्रतियोगिताको विजेताले नगद १ लाख रूपैयाँ, प्रथम उपविजेताले ५० हजार र दोस्रो उपविजेताले २५ हजार रूपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। यसका साथै, मुख्य विजेता र निर्णायकले छनोट गरेको एक ‘प्रोमिसिङ ट्यालेन्ट’ ले भारतको बेंगलोरस्थित ‘जस्ट क्रिकेट एकेडेमी’ मा तीन महिनाको पूर्ण छात्रवृत्तिसहित प्रशिक्षणको अवसर पाउनेछन् । उक्त प्रशिक्षणको सम्पूर्ण खर्च वर्ल्डलिङ्कले नै व्यहोर्ने कम्पनीले जनाएको छ।
नेपालमा क्रिकेटको लोकप्रियता बढ्दै गएको अवस्थामा वर्ल्डलिङ्कको यो पहलले नयाँ प्रतिभाहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुग्न ठूलो मद्दत पुग्ने अपेक्षा गरिएको छ ।



