तेस्रोलिंगी जेनजी बाबु दुमिको वालेनलाई खुला पत्र : ‘तपाईँका शब्दले भावनात्मक हत्या भयो’
काठमाडौँ । लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका सदस्यले प्रधानमन्त्री वालेन्द्र शाह (वालेन)लाई विवादित भिडियो हटाउन खुला पत्र पठाएका छन्। भिडियोमा प्रयोग गरिएका शब्दप्रति आत्मस्वीकृति जनाउन विनम्र अनुरोध गरेका छन्।
प्रधानमन्त्री वालेनलाई सम्बोधन गरिएको खुला पत्रमा आफू राज्य, समाज र व्यवस्थाबाट पछि पारिएको अल्पसंख्यक समुदायको सदस्य भएको उल्लेख गरिएको छ।
लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायकातर्फबाट मायाको पहिचान नेपालका प्रदेश समन्वय अधिकारी जेनजी युवा बाबु दुमि राईले आफू प्रधानमन्त्री वालेनको विरोधी नभएको प्रस्ट पारेका छन्। “तपाईँ समग्र देश र जनताको अभिभावक हुनुहुन्छ, तपाईँप्रति मेरो ठूलो सम्मान छ। म तपाईँको विरोधी होइन, न त व्यक्तिगत रिस वा कुनै प्रतिशोध नै छ।”
तर, र्याप गीतमा प्रयोग भएका शब्दले जति बेवास्ता गर्न खोजे पनि मनमा निरन्तर पीडा दिइरहेको राईले लेखेका छन्।
भिडियोमा प्रयोग गरिएका शब्दहरूले केवल आफूलाई मात्र नभई नेपालमा रहेका सम्पूर्ण लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायलाई गहिरो असर पुर्याएको उनले उल्लेख गरेका छन्। “यस्ता शब्दहरूले हाम्रो भावनात्मक हत्या गरिरहेका छन्,” पत्रमा उल्लेख छ।
महिलालाई कमजोर, लाचार र खेलौना जस्तो प्रस्तुत गर्ने दृष्टिकोण र तेस्रोलिंगी समुदायप्रति प्रयोग भएका अपमानजनक शब्दहरूले समाजमा गम्भीर असर पार्ने चिन्ता राईले व्यक्त गरेका छन्।
पत्रमा विगतका त्रुटिलाई समयसँगै सामान्य ठान्ने प्रवृत्तिप्रति असहमति जनाउँदै राईले लेखेका छन्,“गलत, गलत नै हो। एकचोटि भएको गल्ती समय बित्दै जाँदा सही हुँदैन।” जेनजी आन्दोलनको रापतापमा जनताको अभिभावक बन्न पुगेका प्रधानमन्त्री वालेनलाई सीमान्तकृत समुदायले आशाको किरणका रूपमा लिएको राईले पत्रमा उल्लेख गरेका छन्।
जेनजी आन्दोलन भ्रष्टाचार, दमन र शोषणको अन्त्य, समानता, समावेशिता, सुशासन र विविधताभित्रको एकताका लागि भएको स्मरण गराउँदै वर्तमान नेतृत्वले ती मूल्यलाई व्यवहारमा उतार्नुपर्ने राईले आशा व्यक्त गरेका छन्।
“जानअन्जानमा निस्किएको शब्दले समाजमा महिलामाथि देखिँदै आएको विभेदलाई अझ बलियो बनाएको र तेस्रोलिंगी समुदायको भावनामा गहिरो चोट पुर्याएको” पत्रमा उल्लेख छ।
प्रधानमन्त्रीलाई आफ्ना शब्द फिर्ता लिन र गल्ती स्वीकार गर्न आग्रह गरिएको छ। पत्रमा भनिएको छ, “यदि गल्ती स्वीकार गर्नुभयो भने सबै सीमान्तकृत वर्गले तपाईँप्रति सुरक्षित महसुस गर्नेछन् र इतिहासले पनि तपाईँलाई सम्मानका साथ स्मरण गर्नेछ।”
तर, यदि त्यसो नगरेमा समाजमा विभेद झन् गहिरिँदै जाने र त्यसले दीर्घकालीन रूपमा नकारात्मक प्रभाव पार्ने उल्लेख गरिएको छ।
नेपाली समाजमा तेस्रोलिंगी व्यक्तिहरूले परिवारदेखि नै भोग्दै आएका सामाजिक अपमान, विभेद र बहिष्कारका उदाहरणहरू प्रस्तुत गरिएको छ। विद्यालयमा विभेदका कारण पढाइ छाड्नुपर्ने अवस्था, नागरिकता प्राप्तिमा अवरोध, राज्य संयन्त्रबाट अपमानजनक व्यवहार, रोजगारीमा अवसरको अभावजस्ता समस्याहरूलाई पत्रमा उल्लेख गरिएको छ।
राईले प्रधानमन्त्री वालेनलाई वास्तविक जीवनको यथार्थता प्रस्तुत गरेका छन्। नेपाली समाजमा लैङ्गिक तथा यौनिक अल्पसंख्यक सदस्य जब जन्मिए पछि ताते ताते गर्नु सुरु भएसी।……. सुरु हुन्छ :
ओहो : त किन केटा जस्तो?
त किन केटी जस्तो?
ओहो नि : यो त छक्का हो कि के हो?
हिजडा हो कि के हो?
“छ…क्…यिनै शब्दहरूले सयौँ व्यक्तिहरूको आत्मसम्मान मार्दै आएको छ, उनीहरूलाई जिउँदो लास बनाएको छ,” पत्रमा भनिएको छ।
प्रधानमन्त्रीलाई देशको अस्थायी शासक मात्र नभई दीर्घकालीन इतिहासको अभिभावक बन्ने अवसर रहेको उल्लेख गर्दै, तेस्रोलिंगी समुदायसँग माफी माग्न र विवादित भिडियो हटाउन आग्रह गरिएको छ। “त्यसपछि मात्रै हामीले साँचो अर्थमा अभिभावकत्वको अनुभूति गर्न सक्नेछौँ,” पत्रमा भनिएको छ।
प्रधानमन्त्री वालेनको १२ वर्ष अघि युट्युब च्यानलमा पोस्ट भएको र्याप गीतको भिडियोमा प्रयोग भएका शब्द हटाउन लैङ्गिक तथा यौनिक अल्पसंख्यक व्यक्तिहरूले आग्रह गर्दै आएका छन्।
पहिलो संविधान सभाका सदस्य एवं मायाको पहिचान नेपालका कार्यकारी निर्देशक सुनिल बाबु पन्तले युट्युब ट्रस्ट एन्ड सेफ्टी टिम, मेटा कन्टेन्ट मोडरेशन टिम तथा नेपाल प्रहरीको साइबर ब्युरोलाई सम्बोधन गर्दै आफ्नो प्लेटफर्ममा होस्ट गरिएको प्रधानमन्त्री वालेन्द्र शाहको भिडियो तत्काल हटाउन औपचारिक अनुरोध गरेका छन्।



