एनआईसी एशिया बैंकले लिलाम बिक्रीमा राखेका सम्पत्तिहरू लिलाम बिक्री पोर्टलमा
काठमाडौँ । एनआईसी एशिया बैंकले लिलाम बिक्रीमा राखेका सम्पत्तिहरूको विस्तृत जानकारी प्रदान गर्न अनलाइन पोर्टलमा राखिरहेको जानकारी दिएको छ ।
बैंकले आफ्ना बैंकिङ्ग सम्पत्ति, गैर–बैंकिङ्ग सम्पत्ति तथा धितो सुरक्षणमा रहेका सम्पत्तिहरूको लिलाम सम्बन्धी सम्पूर्ण विवरण एउटै प्लेटफर्ममार्फत उपलब्ध गराउने उद्देश्यले सञ्चालनमा ल्याएको उक्त पोर्टलमा लिलाम बिक्रीमा राखेका सम्पत्तिहरूको विस्तृत जानकारी प्राप्त गर्न सकिनेछ ।
उक्त पोर्टलमार्फत ग्राहकहरूले लिलाममा रहेका सम्पत्तिहरूको कित्ता नम्बर, क्षेत्रफल, फोटो, नक्सा तथा स्थान पहिचानका लागि गुगल म्यापसमेतको जानकारी प्राप्त गर्न सक्नेछन्।
बैंकले प्रकाशन गर्ने लिलाम सूचनामा रहेको क्युआर कोड स्क्यान गरी पनि सो पोर्टलमा प्रवेश गर्न सकिने व्यवस्था गरिएको छ।
यसका साथै, खरिद गर्न इच्छुक ग्राहकहरूले सम्बन्धित सम्पत्तिको थप जानकारीका लागि पोर्टलमै उपलब्ध म्यासेज बक्समार्फत आफ्नो नाम, इमेल, मोबाइल नम्बर र ठेगाना उल्लेख गरी सोधपुछ गर्न सक्ने सुविधा पनि राखिएको छ।
बैंकका अनुसार उक्त पोर्टलमा नियमित रूपमा लिलाममा रहेका सम्पत्तिहरू तथा सम्बन्धित सूचना अद्यावधिक गरिनेछ। यसले सम्पत्ति खरिद प्रक्रियालाई थप पारदर्शी, सहज र प्रभावकारी बनाउने विश्वास बैंकले लिएको छ।


