९० लाख नेपालीका स्वदेश फर्कने साइत कहिले ?
रिसव गौतम
हुन् त विदेशीनु धेरैका लागि बाध्यता हो । देशमा भनेजस्तो रोजगारी र आय–आर्जनका अवसरहरु नभएपछि विदेशिनु रहर भन्दा बाध्यता बढी हुन्छ । तर कतिपयका लागि, विशेषगरी मध्यम तथा धनीहरुका लागि विदेशीनु बाध्यता भन्दा रहर वा फेसन जस्तो देखिन्छ । स्वदेशमा आफ्ना बाबाआमाले गरेका उद्यम ब्यवसायहरु नसम्हालेर विदेश जानेहरु पनि धेरै छन् । खासगरी बिकसित भनिएका देशहरु अष्टे«लिया, अमेरिका, बेलायत, क्यानडा सहितका कतिपय युरोपियन देशहरुमा ती गएका छन् । कोही गुणस्तरीय शिक्षाको बाहनामा त कोही पढ्ने बाहनाले कमाउने ध्येय साथ गएका छन् । त्यसरी जानेहरु पनि धेरै भइसकेका छन् । जस्तो कि अष्टे«लियाको तथ्याकं विभाग (एबिएस) को पछिल्लो तथ्याकं अनुसार त्यहाँ १ लाख ९७ हजार ८ सय नेपालीहरु छन् । र, अष्टे«लियामा रहेका आप्रवासी समुदायहरुमध्ये नेपाली समुदाय अहिले ८औं ठुलो समुह बनिसकेको छ ।
त्यसैगरी प्यू रिसर्च सेन्टरको रिर्पोट अनुसार अमेरिकामा करिव ३ लाख नेपालीहरु बसोबास गरिरहेको पछिल्लो तथ्यांक (सन् २०२५) छ । तर त्यहाँ हरेक १० बर्षमा जनगणना गरिने भएकाले त्यो संख्या बढेको पनि हुनसक्छ । बेलायतमा पनि १ लाख भन्दा ज्यादा नेपाली बसोबास गर्ने अनुमान छन् । क्यानडा लगायत अन्य युरोपियन देशहरुमा पनि अनगिन्ती नेपालीहरु बसोबास गर्छन् । मध्यपुर्बका खाडी देशहरुमा त १९ लाख नेपालीहरु कार्यरत रहेको सरकारी तथ्याकं नै छ । एक महिना यता त्यहाँ जारी अमेरिका–इजराइल र इरानबीचनको द्धन्दले खाडी ११ वटा देशमा हमला भइरहेका छन् । इरानले विश्वको प्रमुख इन्धन निर्यातक मार्ग स्टेट अफ हर्मुज नाका बन्द गरिदिएपछि संसारभरका देशमा इन्धन अभाव खड्किएको छ । फलस्वरुप पर्यटन थलिन थालेको छ र उपभोक्ता वस्तुमा विश्वभर महंगी बढेको छ । खाडीमै कार्यरत कयौं नेपालीहरुले रोजगारी गुमाउन थालिसकेका छन् ।
खाडीका देशहरु मात्र होइन् भारत, चीन, जापान, कोरिया सहित संसारका १७० भन्दा बढी देशमा रोजगारी तथा आप्रवासनका क्रममा नेपालीहरु छरिएका र्छन् । नेपालीहरु पुगेका ८७ भन्दा बढी देशमा त एनआरएनएको सञ्जाल नै विस्तार भइसकेको छ । ११० ओटा देशमा त नेपाल सरकारले नै वैदेशिक रोजगारीका लागि खुल्ला गरिसकेको अवस्था छ । संसारभर कति संख्यामा नेपालीहरु छरिएका छन् भन्ने आधिकारीक तथ्याकं त नेपाल सरकारसँग पनि छैन । अनौपचारिक अध्ययनहरुले देखाए अनुसार नेपालीहरु रोजगारी तथा आप्रवासनका दृष्टिले करिव ९० लाख हाराहारीको संख्यामा विदेशमा छन् । त्यो चानचुने संख्या होइन । ०७८ को जनगणना अनुसार नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ । जसमध्ये ९० लाख हाराहारी नेपालीहरु विदेशमा रहनु, त्यसमा पनि काम गर्न सक्ने क्रियाशिल उमेरका नेपालीहरु विदेशिनुको फाइदा र बेफाइदाको बहस बेग्लै होला । एउटा देशको ३०–३५ प्रतिशत मानिस कुनै न कुनै रुपमा देश बाहिर रहनुले राष्ट्रिय जिवनमा कति फाइदा अनि कति बेफादा होला बहस नै हुन सकेको छैन ।
कतिपयले भन्छन् अवसर आफैले सिर्जना गर्नुपर्छ, राज्यको मुख ताकेर पनि हुदैन । त्यो एक हिसावले ठिकै पनि हो । राज्यले सबैलाई रोजगारी दिन पनि कसरी सक्छ र ? भएकै कर्मचारीहरुको पनि भरणपोषण राम्रोसँग सरकारले गर्न सकिरहेको छैन । तर मुल रुपमा सरकारले आफैले युवाहरुलाई रोजगारी दिने भन्दा पनि उनीहरु रोजगार हुने वातावरण सिर्जना गर्नुपर्छ । राज्यले त्यसको लागि नीजि क्षेञलाई विश्वासमा लिएर रोजगारी र उद्यमशीलता सिर्जना सिजर्ना हुने वातावरण बनाइदिनु पर्छ । फलत लाखौं रोजगारी त्यसै सिर्जना होस् । अहिले त राज्यको आफनै तर्फबाट बार्षिक ३–४ हजार नयाँ रोजागरी सिर्जना भएको छैन । हरेक बर्ष श्रम बजारमा ५ लाख हाराहारी युवाहरु नयाँ निस्कन्छन् । उनीहरुको ब्यवस्थापन नै आजको सबैभन्दा टाउको दुखाइको विषय हो ।
अहिले विदेशएका हरुमध्ये पढ्न भनेर बाहिरीएकाहरु पैसा नभएकाहरु पनि हैनन् । युरोप, अमेरिका तथा अष्ट्रेलिया जानेहरुले कम्तिमा प्रतिब्यक्ति २० लाख हाराहारी खर्च गरेर गएका छन् । उनीहरुलाई देशमै उद्यम बनाउने हो भने उनीहरुकै पैसाले त्यो सुरुवात गर्न सकिन्छ । नेपाल राष्ट बैंकका अनुसार गत आर्थिक बर्ष ०८१–८२ मा वैदेशिक अध्ययनका लागि मात्र नेपालबाट १ खर्ब ३८ अर्ब ४८ करोड रुपैयाँ बाहिरिएको छ । त्यो चानचुने रकम होइन । अहिलेको सरकारले त्यसरी अध्ययनकै नाममा विदेशिएको त्यो पैमानाको रकम रोक्न सक्नुपर्छ । त्यसका लागि फ्रि स्कलरशिप बाहेक विदेशमा महंगो डलरमा पढ्न जाने कुरालाई नियन्त्रण गर्न सक्नुपर्छ । र, त्यसरी बाहिरीने रकम उद्यमशीलता, ब्यवसाय प्रर्वद्धनमा जाने गरी रणनीतिहरु, नीतिगत प्रोत्साहनहरु ग्रिनुपर्छ । जब यो देशमा कोही पनि बस्न नरुचाउने र उनीहरुलाई देशले आर्कषण नगर्ने अवस्था बन्द भएन भने देश कहिल्यै बन्दैन । देशलाई हाम्रै युवा पुस्ताले, अझ नयाँ आएका जेन्जी पुस्ताले माया गर्नुपर्छ र यसलाई आफैले बदल्नु पर्छ ।
आजको आधुनिक युगमा सम्बृद्ध मुलुकको नागरिक हुने दुई काइदा छन् एउटा त अर्काको अथवा कुनै धनी देशको नागरिक हुने, त्यो किनेर होस् वा अरु विकल्पबाट होस् । अर्को आफनो देश आफै बनाउने र सम्बृद्धि सहितको जिवनयापन गर्ने । एउटा सक्षम र देशप्रेमि युवाले गर्ने भनेको आफनो देशलाई हर हालतमा आफैले सम्बृद्ध बनाउने हो । अनि सम्बृद्ध देशको नागरिक हुने हो ।
अहिले त नयाँ दल रास्वपाको दुइतिहाई बहुमत सहित युवाहरुले लिड गरेको स्मार्ट सरकार छ । केही राम्रा नविनतमा कुराहरुका लागि उसले तुरुन्त निर्णय दिनसक्छ । पढेलेखेका, विदेशबाट पनि अनेक आयाममा तरक्की गरेर आएका, विदेशी विकास र सिस्टम देखे–भोेगेर आएकाहरुको सरकारमा छन् । इन्जिीनियर प्रधानमन्त्री र अन्र्तराष्टिय जगतमा चिनिएका अर्थशास्त्री अर्थमन्त्री छन् । उनीहरुलाई यो स्थानमाा ल्याउन डायस्फोरामा रहेका ९० लाख नेपालीहरुको ठुलो हात छ । उनीहरुले नयाँहरुको पक्षमा सामाजिक सञ्जालको प्रयोग मार्फत चुनाबमा माहौल बनाएका थिए । घरघरमा नयाँलाई जिताउन संचार गरेका थिए । अब तिनै मानिसहरु देश बनाउन स्वदेश फर्किउन् । अबको अपेक्षा र प्रतिक्षा त्यही हो । यदी यो देश बनाउने हो भने विदेशीएका नेपालीहरु घर फर्कने स्वर्णिम अवसर यही हो । उनीहरु विदेशमा कमाएको धन, सिप र नेपाली मन लिएर फर्किउन् । अनि मात्र बन्छ देश । विदेशमा बसेर दाउ र जोखना हेरेर मातृभुमीको विकास हुदैन । किनकी जेजति कथनी भएपनि देश बनाउन पुँजी, प्रविधि र सिप चाहिन्छ । त्यो विदेशमा रहेका नेपालीहरुसँग छ । उनीहरु त्यो लिएर देशलाई माया गर्दै अब फर्कनु पर्छ । त्यसको लागि बालेन नेतृत्वको नयाँ सरकारले विदेशमा रहेकाहरुलाई लगानी लिएर नेपाल फर्कन अथवा नेपालमा ठुलो लगानी गर्न आव्हान नै गर्न जरुरी छ ।
अन्र्तराष्ट्रिय स्तरमा नेपालमा लगानीको आवह्न गर्न जरुरी छ । त्यसको लागि आवश्यक कानुन परिर्माजन तथा नवनिर्माण सरकारले गर्नुपर्छ । अनि मात्र बन्छ देश । हाम्रै छिमेकी चीन वा भारत पनि विदेशीएकाहरुले भित्राएको पुँजी र प्रविधिको जगमा सम्बृद्ध हुदै गएका हुन् । चाहे सिंगापुर होस् अथवा स्वीजरल्याण्ड वा दक्षिण कोरिया ती सबैमा विदेशीएकाहरु आफनै देश फर्किएर बनाएका इतिहास छन् । त्यसकारण लुन त अब ढिला नगरौं । यदी नयाँ सरकारलाई, बालेन–रबी–स्वर्णिम नेतृत्वको सरकारलाई विश्वास गर्ने हो भने स्वदेश फर्किऔं । विदेशीको विकास देख्नु, त्यहाँ लुकीछिपी अर्थोपार्जन गर्नु, त्यहाँको सम्बृद्धिमा रमाउनु धेरै ठुलो कुरा होइन् । बरु स्वदेशमै खरिया खन्नु र कम्तिमा देशको अर्थतन्त्र र उत्पादनमा सानो सानो भएपनि योगदान गर्नु त्यो नै महान हो ।
अन्त्यमा, बाहिरीएका नेपालीहरु परिवार सहित फर्कने सहि समय यही हो । नेपालमा शिक्षा, स्वास्थ्य, यातायात, संचार, विधुत आदीमा आधारभुत तहमा विकास भइसकेको छ । देशलाई द्यनी बनाउने, विकासलाई आधुनिक एवं सुविधा सम्पन्न गर्ने, उद्यमशीलता अभिबृद्धि गरी स्वदेशमै रोजगारी र आय आर्जनको अवस्था सिर्जना गरी आफनै देशमा सान र मान सहित जिउने रणनीति अब विदेशमा रहेकाहरुले लिनुपर्छ । बालेन सरकारले त्यसका लागि नीतिगत सम्बोधन र वातावरण बनाउनु पर्छ । आवहन गर्नुपर्छ ।
गौतम आर्थिक लेखक तथा विश्लेषक हुन् ।



