हिमालयन पावर पार्टनरले बैशाख १७ गतेदेखि हकप्रद शेयर निष्काशन गर्ने
काठमाडौं । हिमालयन पावर पार्टनर लिमिटेड (HPPL) ले बैशाख १७ गतेदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो।
अर्थात कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर नयाँ ०.५ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो। यस अनुसार कम्पनीले ५३ करोड २७ लाख ८ हजार ५०० रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ५३ लाख २७ हजार ८५ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ।
हकप्रद शेयर निष्काशन प्रयोजनार्थ कम्पनीले चैत १० गते बुकक्लोज गरेको थियो। यस अनुसार चैत ९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको हकप्रद शेयरमा जेठ ६ गतेसम्म आवेदन दिन सकिनेछ।
हकप्रद निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएनपी डबल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धकका साथै ग्लोबल आइएमई बैंकको बेशीशहर, दोर्दी, भोटेओडार र उदिपुर शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। त्यस्तै, नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त सि आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट सि आस्बा प्रणालीमार्फत तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी अनलाइनमार्फत पनि आवेदन दिन सक्नेछन्।
हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ६ करोड ५४ लाख १७ हजार रुपैयाँ रहेको छ। हकप्रद निष्काशन तथा बाँडफाँटपश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब ५९ करोड ८१ लाख २५ हजार ५०० रुपैयाँ पुग्नेछ।
हकप्रद शेयर निष्काशन गरी संकलन भएको रकम कम्पनीले प्राइम कमर्सियल बैंकको अगुवाईमा नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, प्रभु बैंक र हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीबाट लिएको सहवित्तीयकरण ऋण रकम भुक्तानी गर्न प्रयोग गर्नेछ।



