अस्पताल क्यान्टिनमा खाद्य स्वच्छता कायम गर्न महानगरको बुट क्याम्प
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले अस्पतालभित्र सञ्चालन हुने चमेना गृह, भोजनालय र क्यान्टिनलाई सुरक्षित, स्वच्छ र उपभोक्ता–मैत्री बनाउन खाद्य स्वच्छता सम्बन्धी “फूड सेफ्टी बुट क्याम्प” सञ्चालन गरेको छ । अस्पताल क्यान्टिनहरूमा सरसफाइको अभाव, गुणस्तरहीन खाना र असुरक्षित भण्डारणजस्ता समस्या देखिएपछि क्यान्टिन सञ्चालकमा जागरण ल्याउन यस्ता कार्यक्रम गर्न लागिएको हो ।
अनुगमनका क्रममा काँचो र पाकेका खाना सँगै राखिने, खाना खुला राखिने तथा किट नियन्त्रण कमजोर हुने अवस्थाले बिरामी र सेवाग्राहीको स्वास्थ्यमा जोखिम बढाएको पाइएको छ । यस्ता जोखिम कम गर्न र ‘विश्व स्वास्थ्य संगठन’को मापदण्डअनुसार व्यवसायीलाई तालिम दिने उद्देश्यसहित बुट क्याम्प सञ्चालन गरेको महानगरले बताएको छ । ‘विरामी निको पार्न सहयोग गर्ने मान्छे नै विरामी नहोस्’ भन्ने सन्देशका साथ आयोजना गरिएको कार्यक्रममा व्यवसायीलाई कानुनी, प्राविधिक तथा स्वच्छता सम्बन्धी विशेष प्रशिक्षण दिइएको थियो ।
महानगरको कृषि तथा पशुपन्छी विभागका प्रमुख नुरनिधि न्यौपानेले खाद्य स्वच्छतामा सरकार र व्यवसायी दुवैको समान भूमिका रहने उल्लेख गर्दै दुवैको सहकार्यबाट मात्रै स्वच्छता कायम गर्न सकिने बताउनुभयो । उहाँले हामीलाई धेरै कुरा थाहा हुन्छ, तर व्यवहारमा कार्यान्वयन नगर्दा कारवाहीको भागिदार बन्नुपर्ने अवस्था आउन सक्ने बताउनुभयो । एक महिनाभित्र व्यवसाय अनुगमन गरिने जानकारी समेत दिँदै कारवाहीभन्दा पनि सुधार नै महानगरको उद्देश्य भएको न्यौपानेले स्पष्ट पार्नुभयो ।
महानगरका विज्ञ सल्लाहकार जीवनप्रभा लामाले कारवाहीले कारवाही मात्र हुने रहेछ त्यसैले कारवाहीसँगै व्यवसायीलाई सचेत र जिम्मेवार बनाउनु आवश्यक महसुस गरेर बुट क्याम्प शुरू गरिएको बताउनुभयो । राम्रो काम गर्ने व्यवसायीलाई सहयोग गर्न आफू तयार रहेको उहाँको भनाइ थियो ।
प्रशिक्षक नवीन कर्माचार्यले खाद्य स्वच्छतामा जैविक, रासायनिक र भौतिक जोखिमबाट बचाउने उपायबारे जानकारी दिँदै उपभोक्तामा कुनै नकारात्मक असर नपर्ने गरी खाना तयार गर्नुपर्नेमा जोड दिनुभयो । त्यस्तै डा. आलोक श्रेष्ठले खाद्य पदार्थ भान्छामा प्रवेश गर्नु अघिदेखि नै स्वच्छ हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा सहभागी व्यवसायीहरूले पनि बुट क्याम्पलाई उपयोगी बताएका छन् । वीर अस्पतालकी डाइटिसियन सजना दाहालले व्यवहारमा छुटेका पक्षलाई सुधार्न कार्यक्रमले प्रेरणा दिएको बताउनुभयो । भ्याल्ली हस्पिटल पुतलीसडकका क्यान्टिन सञ्चालक राज चौधरीले तापक्रम व्यवस्थापन र अनुगमन जस्ता विषयमा नयाँ ज्ञान प्राप्त भएको प्रतिक्रिया दिनुभयो ।
काठमाडौँ मोडल हस्पिटलका एक्जुकेटिभ सेफ भक्तबहादुर श्रेष्ठले क्यान्टिन सञ्चालनका लागि अस्पतालको क्षमता अनुसार मापदण्ड निर्धारण गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । सानो स्थानमा सबै मापदण्ड कार्यान्वयन गर्न कठिन हुने उहाँको भनाइ थियो ।
महानगरभित्रका ५७ अस्पतालका ५९ क्यान्टिनबाट ७४ जनाको सहभागिता रहेको उक्त बुट क्याम्प अन्तरक्रियात्मक रहेको थियो । सहभागीहरूले आफ्नो अनुभव, समस्या र अभ्यासबारे खुला छलफल गरेका थिए ।
महानगरले यस्तो कार्यक्रममार्फत खाद्य व्यवसायलाई सुरक्षित र स्वच्छ बनाउन जागरण ल्याउने लक्ष्य लिएको छ ।



