सिटीपे र छिटो पैसाबीचको मर्जर-डिजिटल भुक्तानीमा नयाँ युगको सुरुवात
काठमाडौं । नेपालको फिनटेक क्षेत्रमा वालेटको दोश्रो मर्जर अन्तिम चरणमा पुगेको छ। डिजिटल वालेट ‘सिटी पे’ (City Pay) र ‘छिटो पैसा’ (Chhito Paisa) बीच मर्जरको प्रक्रिया अघि बढेको हो।
स्रोतका अनुसार दुवै वालेटले आपसमा गाभिने प्रारम्भिक सहमति गरिसकेका छन्। सोही सहमतिअनुसार अन्तिम स्वीकृति र एकीकृत कारोबारका लागि अनुमति माग्दै उनीहरूले नियामक निकाय नेपाल राष्ट्र बैंकमा निवेदन समेत दिइसकेका छन्। राष्ट्र बैंकबाट अन्तिम स्वीकृति पाएपछि यी दुई वालेटले संयुक्त कारोबार सुरु गर्नेछन्।
‘सिटी पे‘ सिटी एक्सप्रेसद्वारा प्रवर्द्धित वालेट हो भने ‘छिटो पैसा‘ मा चर्चित राइड सेयरिङ एप ‘पठाओ नेपाल’ का लगानीकर्ताहरुको लगानी छ। ‘सिटी पे’ र ‘पठाओ’ले एक-अर्काका सेवाहरूलाई आ-आफ्नो प्लेटफर्ममार्फत ‘क्रस-प्रमोसन’ गरिरहेका छन्। यसले पनि यी दुई कम्पनीबीच भित्रभित्रै सहकार्य र मर्जरको तयारी भइरहेको संकेत दिएको थियो।
नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार हाल ‘सिटी पे’ (सिटी वालेट प्रा.लि.) को चुक्ता पूँजी १० करोड रुपैयाँ रहेको छ भने ‘छिटो पैसा’ (छिटो पैसा प्राइभेट लिमिटेड) को चुक्ता पूँजी २ करोड ६५ लाख रुपैयाँ रहेको छ।
रेमिट्यान्सलाई मुख्य आधार बनाएर आक्रामक व्यापार विस्तार गरिरहेको वालेट ‘सिटी पे’ र देशकै लोकप्रिय राइड सेयरिङ एपद्वारा ब्याक गरिएको वालेट ‘छिटो पैसा’ एक हुँदा आगामी दिनमा कम्पनी नयाँ र आक्रामक रणनीतिका साथ अघि बढ्ने देखिन्छ।




