नेपाल बैंकद्वारा ग्लोबल मनि विक २०२६ भव्यताका साथ सम्पन्न
काठमाडौं । नेपाल बैंकले ग्लोबल मनि विक २०२६ भव्यताका साथ सम्पन्न गरेको जानकारी दिएको छ । बैंकले यही चैत दुई गतेदेखि चैत आठ गतेसम्म स्मार्ट मनि टक्स भन्ने मूल नाराका साथ सातै प्रदेशका आफ्ना शाखाहरूमा सफलतापूर्वक सम्पन्न गरेको हो ।
यो अभियान संसारभरका युवा पुस्तामा वित्तीय साक्षरता र आर्थिक सशक्तीकरणको सन्देश फैलाउने उद्देश्यले हरेक वर्ष आयोजना गरिने एक अन्तर्राष्ट्रिय कार्यक्रम हो । यस वर्षको ग्लोबल मनि विकअन्तर्गत नेपाल बैंकका सातै प्रदेश स्थित शाखाहरूले उत्साहजनक सहभागिता जनाएका थिए ।
सो सप्ताहव्यापी कार्यक्रमअन्तर्गत विद्यार्थी, युवा तथा सर्वसाधारण नागरिकहरूलाई बचत, लगानी, डिजिटल बैंकिङ, ऋण व्यवस्थापन र वित्तीय योजनासम्बन्धी व्यवहारिक ज्ञान प्रदान गरिएको थियो । कार्यक्रमका मुख्य गतिविधिहरूमा स्थानीय विद्यालय तथा क्याम्पसहरूमा वित्तीय साक्षरता अभिमुखीकरण कक्षाहरू तथा बैंकिङ सेवाको बारेमा जनचेतना अभियान, डिजिटल भुक्तानी प्रणालीको प्रयोगात्मक प्रशिक्षण, बचत खाता खोल्ने विशेष अभियान र महिला तथा युवा उद्यमीहरूका लागि उद्यमशिलतासम्बन्धी कार्यक्रम, प्रभातफेरी, हाजिरी जवाफ प्रतियोगिता, विशेषज्ञ समूह छलफल जस्ता कार्यक्रमहरू आयोजना गरिएका थिए ।
बैंकले आगामी दिनमा पनि यस्ता वित्तीय साक्षरताका अभियानहरू निरन्तर सञ्चालन गर्दै आम नागरिकहरूमा वित्तीय सचेतनाको क्षेत्रमा योगदान पुर्याउँदै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।


