प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक
काठमाडौंं। प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । बैठक आज साँझ ४ः३० बजे सिंहदरबारमा बस्ने सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिएका छन् । बैठक पछिल्लो राजनीतिक र प्रशासनिक गतिविधिबीच अर्थपूर्ण रूपमा छलफल हुने उनको भनाई छ ।
सरकार गठनपछि सुधारका एजेन्डामा आक्रामक रूपमा अघि बढिरहेका प्रधानमन्त्री शाहले कर्मचारी युनियन खारेजदेखि प्रशासनिक पुनर्संरचनासम्मका निर्णय लिइरहेका छन् । यही क्रममै आजको बैठकमा थप ठूला नीतिगत निर्णय आउन सक्ने संकेत गरिएको छ ।
इन्धन मूल्य वृद्धि, अन्तर्राष्ट्रिय परिस्थितिको असर, र आन्तरिक प्रशासन सुधारजस्ता विषयहरू बैठकको प्राथमिकतामा पर्ने सम्भावना छ । नयाँ सरकारप्रति बढ्दो जनचासोबीच बस्न लागेको यो बैठकले सरकारको आगामी गति र प्राथमिकता स्पष्ट पार्ने विश्वास गरिएको छ ।




