गभर्मेन्ट कुरिअर सर्भिसः लाइसेन्स र राहदानी अब घरमै डेलिभरी
काठमाडौँ । सरकारले लाइसेन्स, राहदानी (पासपोर्ट) र नागरिकता जस्ता महत्त्वपूर्ण प्रमाणपत्रहरू नागरिकको घरमै डेलिभरी गर्ने व्यवस्था गर्ने भएको छ।
मन्त्रिपरिषद्बाट स्वीकृत ‘शासकीय सुधारसम्बन्धी एक सय कार्यसूची’ को बुँदा नम्बर २७ मा आधारित यो योजना अघि सारिएको हो।
योजनाअनुसार हालको हुलाक सेवालाई पूर्ण रूपमा आधुनिकीकरण गरी ‘गभर्नमेन्ट कुरियर सर्भिस’ को रूपमा विकास गरिनेछ। यो सेवामार्फत राहदानी, नागरिकताको प्रतिलिपि, सवारी चालक अनुमति पत्र (लाइसेन्स) लगायतका सरकारी कागजात र सामग्रीहरू सुरक्षित रूपमा नागरिकको घरमै पुर्याउने सुनिश्चित गरिनेछ।
सरकारले यो व्यवस्था आगामी १०० दिनभित्रै लागू गर्ने लक्ष्य राखेको छ।
प्रविधिको प्रयोगमार्फत सेवा प्रवाहलाई चुस्त बनाउन र नागरिकलाई सास्तीमुक्त बनाउन यो कदम चालिएको सरकारले जनाएको छ ।




