लुम्बिनी विकास बैंकद्वारा ग्लोबल मनी विकको अवसरमा देशभर कार्यक्रम, एक हजार विद्यार्थीहरू लाभान्वित
काठमाडौँ । लुम्बिनी विकास बैंक लिमिटेडले ग्लोबल मनी विक २०२६ को अवसरमा सातै प्रदेशमा विभिन्न कार्यक्रम सम्पन्न गरेको छ । बैंकले सातै प्रदेशमा रहेका आफ्ना शाखा कार्यलयहरूमार्फत विभिन्न विद्यालयमा अध्ययनरत करिब एक हजार विद्यार्थीहरूलाई वित्तीय साक्षरता अभिवृद्वि, वित्तीय ज्ञान, मनोवृत्ति विकास गराउने उद्देश्यका साथ कार्यक्रम सम्पन्न गरेको हो ।
बैंकले युवा विद्यार्थीहरूलाई बैंकले गर्ने कार्यहरू जस्तै बचत निक्षेप, कर्जा लगानी, विप्रेषण, डिजिटल बैंकिङ्ग लगायतका विषयहरू समेटि विद्यालयहरूमा नै वित्तीय साक्षरता कक्षा सञ्चालन गरेको थियो ।
साथै, उक्त अवसरमा बैंकका शाखा कार्यालयहरूबाट वित्तीय जानकारीमूलक प्लेकार्डहरू प्रदर्शन गर्दै प्रभातफेरी कार्यक्रम समेत आयोजना गरेको थियो ।
‘स्मार्ट मनी टल्क्स’ भन्ने नाराका साथ यो वर्ष (२०२६) को ग्लोबल मनी विक, १६ देखि २२ मार्चमा युवा बिद्यार्थीहरूलाई लक्षित गरि बैंकले पनि सो कार्यक्रमहरू सम्पन्न गरको थियो ।
यसबाट बैंकिङ्ग प्रणाली सुदृढ हुनुका साथै युवा विद्यार्थीहरूमा वित्तीय ज्ञानको विकास भएको विश्वास बैंकले लिएको छ ।
देशका ७ वटै प्रदेशमा शाखा सञ्चालन गरि कारोबार गर्दै आइरहेको लुम्बिनी विकास बैंक लिमिटेडको बिभिन्न स्थानहरूमा गरी ८९ वटा शाखा कार्यालयहरू तथा एक विस्तारित शाखा (एक्सटेन्सन काउण्टर) रहेकोे छ । यस लुम्बिनी विकास बैंक लिमिटेडले ‘निरन्तर सहयात्रा’ भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नविनतम् प्रविधिहरूसहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।
ग्राहकहरूलाई अधिकतम प्रतिफल दिने उद्देश्यले बैंकले बचत निक्षेप खाताहरूमा उच्चतम ब्याज प्रदान गर्ने बिशेष योजना कार्यान्वयनमा ल्याएको छ ।




