सेयर बजारको आकार ५० खर्ब नाघ्यो, जीडीपीको करिब ८० प्रतिशत
काठमाडौं । नेपालको सेयर बजार पुनः विस्तारको गतिमा अघि बढेको छ । मंगलबार कुल बजार पुँजीकरण ५० खर्ब रुपैयाँ नाघ्दै नयाँ उचाइतर्फ उन्मुख भएको हो । जीडीपीको करिब ८० प्रतिशत बराबर पुगेको सेयर बजारमा राजनीतिक स्थिरता र नयाँ सरकारबाट पूँजी बजारमैत्री नीति आउने अपेक्षाले लगानीकर्ता उत्साहित देखिएका छन्।
नेपाल स्टक एक्सचेन्जका अनुसार चैत १० गते कुल पुँजीकरण ५० खर्ब २ अर्ब १६ करोड १३ लाख रुपैयाँ पुगेको हो। यसअघि साउन १३ गते ५० खर्ब ९ अर्ब ४६ करोड रुपैयाँ पुगेर उच्च रेकर्ड बनेको थियो। हालको उकालो प्रवृत्ति कायम रहे निकट भविष्यमै बजारले नयाँ ऐतिहासिक कीर्तिमान बनाउने संकेत देखिएको छ।
सेयर बजारको पुँजीकरणजीडीपीको करिब ८० प्रतिशत
हाल नेपालको कुल जीडीपी करिब ६२ खर्ब रुपैयाँ रहेको छ भने नेप्सेको बजार पुँजीकरण ५० खर्ब पार गरिसकेको छ । जुन जीडीपीको बजार आकार अनुपातको करिब ८० प्रतिशत हो । यदि बजार यसैगरी विस्तार हुँदै जाने हो भने भविष्यमा बजार पुँजीकरण जीडीपीभन्दा पनि ठूलो हुन सक्ने देखिन्छ । यद्दपि, विकसित देशहरुमा यस्तो अवस्था सामान्य मानिन्छ ।
धेरै विकसित देशहरुमा बजार पुँजीकरण प्रायः आफ्नो वार्षिक आर्थिक उत्पादन (जीडीपी) भन्दा बढी देखिन्छ । यसको मुख्य कारण ती देशहरुमा वित्तीय बजार अत्यन्त विकसित हुनु हो । अमेरिका विश्वको सबैभन्दा ठूलो सेयर बजार हो । यहाँका २ प्रमुख एक्सचेन्ज एनवाईएसई र नास्ड्याकमा सूचीकृत कम्पनीहरुको कुल बजार पुँजीकरण अमेरिकी जीडीपी भन्दा धेरै ठूलो छ ।
नयाँ कम्पनीको प्रवेशले बजार विस्तार
गत वर्ष र चालु वर्षमा २४ नयाँ कम्पनी सूचीकृत भएका छन्। ती कम्पनीहरूले मात्रै ८२ करोड ९४ लाखभन्दा बढी कित्ता सेयर थप गर्दै करिब २ खर्ब ९१ अर्ब रुपैयाँ बराबरको पुँजीकरण योगदान गरेका छन्। सोलु हाइड्रोपावर, रिलायन्स स्पिनिङ मिल्स, बन्दीपूर तथा एसवाई प्यानल जस्ता कम्पनीहरूको उच्च पुँजीकरणले बजार विस्तारमा उल्लेखनीय भूमिका खेलेको छ।
मंगलबारको मैनबत्ती विश्लेषणमा हरियो इन्भर्टेड ह्यामर आकृति बनेको छ, जसले बजारमा खरीदकर्ता सक्रिय र विक्रेता कमजोर बन्दै गएको संकेत गर्छ। यसले आगामी दिनमा बजार अझै उकालो लाग्ने सम्भावना देखाउँछ।
व्यापारिक समूहमा सबैभन्दा उच्च ९.१२ प्रतिशत वृद्धि भएको छ। विकास बैंक, बैंकिङ, वित्त, जलविद्युत्, उत्पादन तथा प्रशोधन र म्युचुअल फण्ड समूह पनि बढेका छन्। तर होटल तथा पर्यटन, बीमा, लघुवित्त लगायत केही समूहमा गिरावट देखिएको छ।




