राजनीतिक नियुक्ति लिएकाले राजीनामा दिएर नयाँ सरकारलाई सहयोग गरिदिनू: रास्वपा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दुई तिहाइको ताजा जनादेशसहित सरकार निर्माणको प्रक्रियामा मुलुक प्रवेश गर्न लागेको भन्दै यसअघिका सरकारबाट नियुक्ति लिएकाहरूलाई राजीनामा दिन आग्रह गरेको छ।
‘अघिल्ला सरकारबाट राजनीतिक नियुक्ति पाएकाहरूलाई हामीले राजीनामा दिइहाल्नुस् भनेर औपचारिक रूपमा भनेका छैनौं। सरकार निर्माणको प्रक्रिया नै बाँकी छ,’ रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटीले भने, ‘तर यसअघिका सरकारले राजनीतिक नियुक्ति दिँदा व्यक्तिको योग्यता, क्षमता, विषयविज्ञता हेर्नेभन्दा पनि दलका कार्यकर्ता र आफ्ना वरपरका लाई लाभ दिने गरेको देखिएको छ। त्यसप्रति नागरिकको असन्तुष्टि रहेको छ। नयाँ जनादेशबाट बन्ने सरकारले पनि तिनै नियुक्तिलाई निरन्तरता दिँदा पुरानै कुरालाई निरन्तरता दिएजस्तो हुने भएकाले मार्ग प्रशस्त गरून् भन्ने हाम्रो आशय हो।’
यसअघिका सरकारले योग्यता, क्षमताभन्दा पनि पहुँच र राजनीतिक प्रभावका आधारमा नियुक्ति दिएको अनेकौं उदाहरण रहेको र नागरिक तहमा त्यसप्रति ठूलो असन्तुष्टि देखिएकाले त्यसको सम्बोधन आवश्यक रहेको निष्कर्ष निकालेको हो।
महामन्त्री बुर्लाकोटीका अनुसार त्यसरी राजनीतिक नियुक्ति लिएकाहरूले पार्टी या सरकारले एकैपटक राजीनामा दिन आह्वान गर्दैन। विगतमा राजदूत फिर्ता, संस्थान वा सरकारी निकायमा नियुक्ति पाएकाहरूलाई पदबाट फिर्ता बोलाउने अभ्यास भए पनि यसपटक के गर्ने भनेर पनि पार्टी छलफलको चरणमा प्रवेश गरिसकेको छैन।
तर त्यसरी राजनीतिक नियुक्ति लिएकाहरूले स्वस्फूर्त राजीनामा दिऊन् भन्ने अभिप्रायः भने रहेको बुर्लाकोटीले बताए।
हालै भएको प्रतिनिधि सभा निर्वाचनमा रास्वपाले दुई तिहाइनिकट मत प्राप्त गरेको छ। रास्वपाले प्रत्यक्षतर्फ १२५ र समानुपातिकतर्फ ५७ सिट गरी कुल १८२ स्थानमा जित हासिल गरेको थियो।
रास्वपाकातर्फबाट प्रधानमन्त्री प्रस्तावित बालेन शाहले आगामी चैत १३ गते पद तथा गोपनीयताको शपथ लिँदैछन्। रास्वपाले उनलाई चैत १२ गते संसदीय दलको नेता बनाउने छ।
राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (१) अनुसार शाहलाई प्रधानमन्त्री नियुक्त गर्नेछन्।




