एभरेष्ट बैंकद्वारा २०८३ सालको क्यालेन्डर अनावरण
काठमाडौं । एभरेष्ट बैंकले वि.सं. २०८३ सालको कर्पोरेट क्यालेन्डर सार्वजनिक गरेको छ। लामो समयदेखि धर्म, संस्कृति, पर्यटन तथा पुरातात्विक महत्व झल्काउने विषयवस्तु समेट्दै क्यालेन्डर प्रकाशन गर्दै आएको बैंकले यस वर्ष पनि आफ्नो परम्परालाई निरन्तरता दिएको हो।
यस वर्षको क्यालेन्डर “नेपालको विकास यात्राः नवप्रवर्तनका आयामहरू” शीर्षकमा आधारित रहेको छ, जसमा उन्नाइसौँ शताब्दीको मध्यदेखि सुरु भएको नेपालको विकासक्रमलाई समग्र दृष्टिकोणबाट प्रस्तुत गरिएको बैंकले जनाएको छ।
एक विशेष समारोहका बीच बैंकका सञ्चालक समितिका अध्यक्ष डा. बालगोपाल वैद्य ले क्यालेन्डर अनावरण गर्नुभएको हो। कार्यक्रममा बैंकका सञ्चालकहरू तथा उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो।
हाल एभरेष्ट बैंकका करिब १४ लाखभन्दा बढी ग्राहक रहेका छन्। बैंकले देशभर १३३ शाखा, ४ एक्सटेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय तथा १६३ एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ।
त्यसैगरी, अत्याधुनिक मोबाइल, इन्टरनेट तथा एसएमएस बैंकिङ सेवा उपलब्ध गराउँदै आएको बैंकले नेपाल सरकारको राजस्व सङ्कलनका लागि ३३ वटा सङ्कलन केन्द्रमार्फत पनि सेवा दिँदै आएको छ। बैंकले भारतको नयाँ दिल्लीसहित विभिन्न मुलुकमा प्रतिनिधि कार्यालय स्थापना गरी अन्तर्राष्ट्रिय स्तरमा समेत आफ्नो सेवा विस्तार गरिरहेको जनाएको छ।



