नबिल बैंकको वित्तिय साक्षरता कार्यक्रम
काठमाडौं । नबिल बैंक लिमिटेड, मालिगाउँ शाखाले वित्तिय साक्षरता कार्यक्रम आयोजना गरेको छ । चैत २ गते ग्लोबल मनी विक २०२६ को अवसरमा नबिल बैंक लिमिटेड, मालिगाउँ शाखाद्वारा टंगाल माध्यमिक विद्यालय टंगाल काठमाडौंमा अध्ययनरत कक्षा १२ कक्षासम्मका विद्यार्थीहरूका लागि वित्तीय साक्षरता प्रशिक्षण कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा करिब ४० भन्दा बढी विद्यार्थीहरूको सहभागिता रहेको थियो । बालबालिका तथा किशोरकिशोरीहरूमा वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले नबिल बैंकले हरेक वर्ष ग्लोबल मनी वीकको अवसरमा विभिन्न सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।
कार्यक्रममा बैंकिङ साक्षरता सम्बन्धी प्रस्तुति उत्सव श्रेष्ठ, मालिगाउँ शाखा प्रमुखले दिएका थिए र सो शाखाकोतर्फबाट सम्बन्ध अधिकृत कृपा दहाल र सञ्चालन इन्चार्ज कोपिला लामिछानेको उपस्थिति थियो । उनले विद्यार्थीहरूलाई बचतको महत्व, बैंकिङ प्रणालीको प्रयोग, डिजिटल भुक्तानी तथा सुरक्षित वित्तीय व्यवहारबारे जानकारी गराएका थिए ।
कार्यक्रमका वक्ताहरूले आधुनिक समयमा डिजिटल बैंकिङ, मोबाइल वालेट तथा अनलाइन कारोबारको प्रयोग बढ्दै गइरहेकाले युवापुस्तालाई सही वित्तीय ज्ञान आवश्यक रहेको बताए । साथै, विद्यार्थीहरूलाई पैसाको सही व्यवस्थापन, नियमित बचत गर्ने बानी र डिजिटल माध्यमको सुरक्षित प्रयोगबारे पनि जानकारी दिइएको थियो ।
सहभागीहरूले वित्तीय साक्षरताले भविष्यमा सही आर्थिक निर्णय लिन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । नबिल बैंकका अनुसार समुदायमा वित्तीय ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले यस्ता कार्यक्रम आगामी दिनमा पनि निरन्तर रूपमा सञ्चालन गरिनेछ ।




