कालंगा हाइड्रोले चैत १० गतेदेखि आईपीओ निष्काशन गर्ने
काठमाडौं । कालंगा हाइड्रो लिमिटेडले चैत १० गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा आईपीओ निष्काशन गर्ने भएको छ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ४९ लाख कित्ता आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट फागुन २६ गते अनुमति पाएको हो। सोमध्ये अहिले आयोजना प्रभावितलाई १४ लाख कित्ता र वैदेशिक रोजगारेलाई ३ लाख ५० हजार कित्ता निष्काशन गर्न लागिएको हो।
यसमा आवेदन दिंदा न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म माग गर्न सकिनेछ। आयोजना प्रभावितले चैत २४ गतेसम्म र वैदशिक रोजगारेले चैत १५ गतेसम्म आवेदन दिइसक्नु पर्नेछ।
प्रथम चरणको आईपीओ बाँडफाँड भइसकेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि समेत आईपीओ निष्काशन गर्नेछ। कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ।




