नाडा अटोमोबाइल्सका अध्यक्ष चौधरीको कार्यकाल समाप्त, सञ्चार माध्यमप्रति कृतज्ञता
काठमाडौं। नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपालका अध्यक्ष करण कुमार चौधरीको कार्यकाल समाप्त भएको छ। चौधरीले आफ्नो कार्यकालको समाप्तिपछि सञ्चार माध्यमहरूप्रति कृतज्ञता व्यक्त गरेका छन्। उनले स्वतन्त्र, उत्तरदायी र व्यावसायिक सञ्चार माध्यमले राष्ट्रिय जीवनमा खेलेको भूमिकाको उच्च मूल्याङ्कन गर्दै आभार प्रकट गरेका हुन्।
चौधरीले भने, ‘सञ्चार माध्यमले केवल सूचना प्रवाह गर्ने मात्रै नभई नीति निर्माण, अर्थतन्त्र र उद्योग–व्यवसायसम्बन्धी विभिन्न विषयमा जनचेतना अभिवृद्धि गर्ने महत्वपूर्ण दायित्व निर्वाह गर्दै आएका छन्। अटोमोबाइल क्षेत्रसँग सम्बन्धित नीतिगत बहस, सुधार प्रयास, चुनौती र सम्भावनाहरूलाई तथ्यपरक र सन्तुलित तरिकाले सार्वजनिक गर्न सञ्चार माध्यमहरूले गरेको योगदानप्रति उच्च सम्मान व्यक्त गर्दछुँ।’
कार्यकालभरि नाडाले अघि सारेका कार्यक्रम, सुधार पहल र संस्थागत रूपान्तरणका प्रयासहरूलाई सञ्चार माध्यममार्फत व्यापक जनमानस र सरोकारवाला निकायसम्म पुर्याउन सहयोग पुगेको उल्लेख गर्दै अध्यक्ष चौधरीले व्यावसायिकता, निष्पक्षता र गम्भीरताको लागि विशेष धन्यवाद दिए।




