समानुपातिक मतगणना अन्तिम चरणमा, रास्वपाले पायो ४७.८६ प्रतिशत मत
काठमाडौं । प्रतिनिधि सभा सदस्यको निर्वाचनमा समानुपातिकतर्फ परेको मतगणना अब अन्तिम चरणमा पुगेको छ। निर्वाचन आयोगका अनुसार १ करोड ७ लाख ३० हजार ५५१ मत गणना गरिएको छ।
पछिल्लो मतगणना अनुसार रास्वपा (घण्टी) ले ५१ लाख ३५ हजार ६२१ अर्थात ४७.८६ मत प्राप्त गरेको छ। यस अनुसार पार्टीको सम्भावित सीट संख्या १८२ पुगेको छ।
दोस्रोमा नेपाली कांग्रेस (रूख) ले १७ लाख ४७ हजार ७३७ अर्थात १६.२९ प्रतिशत मत प्राप्त गरेको छ भने पार्टीको कुल सम्भावित सीट संख्या ३८ पुगेको छ। तेस्रोमा नेकपा एमाले (सूर्य) ले १४ लाख ४८ हजार ३१८ अर्थात १३.५० प्रतिशत मत प्राप्त गरी सम्भावित सीट संख्या २५ पुर्याउन सफल भएको छ।
त्यसैगरी नेकपा (तारा) ले ८ लाख ३ हजार ६२७ अर्थात ७.४९ प्रतिशत मत प्राप्त गरी सम्भावित कुल सीट संख्या १७ कायम भएको छ भने श्रम संस्कृति पार्टी (माटो) ले ३ लाख ७८ हजार ५८७ अर्थात ३.५३ प्रतिशत मत प्राप्त गर्दा सम्भावित कुल सीट संख्या ७ पुगेको छ।
राप्रपा (हलो) ले हालसम्म ३ लाख २७ हजार २५ अर्थात ३.०५ प्रतिशत मत प्राप्त गरी थ्रेसहोल्ड कटाउन सफल भएको छ। यसबापत पार्टीको सम्भावित कुल सीट संख्या ५ पुगेको छ। यसबाहेक अन्य दलहरू भने थ्रेसहोल्ड कटाउन असफल भएका छन्।




