जाँचबुझ आयोगले बुझायो जेनजी प्रदर्शनबारे छानबिन प्रतिवेदन
प्रधानमन्त्रीले भनिन्– अध्ययनपछि प्रक्रिया अघि बढ्छ
काठमाडौं । गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी पक्षबाट भएको भनिएको दमनबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले आफ्नो प्रतिवेदन प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाएको छ ।
पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगका पदाधिकारीहरु आज प्रधानमन्त्री कार्यालय पुगेर प्रतिवेदन बुझाएको हो ।
असोज ५ मा सरकारले भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न आयोग गठन गरेको थियो । आयोगले भदौ २३ मा काठमाडौँको बानेश्वरमा भएको प्रदर्शनमा युवाहरूको ज्यान जानेगरी भएको घटनाबारे १५० जना भन्दा धेरै सरकारी अधिकारीहरू र आन्दोलनका प्रत्यक्षदर्शीहरुसँग बयान लिएको थियो ।
प्रतिवेदन बुझ्दै प्रधानमन्त्री कार्कीले अध्ययन गरेर आवश्यक प्रक्रिया अघि बढाउने बताएको उनका प्रेस सल्लाहकार राम रावलले जानकारी दिए ।
जेनजी आन्दोलन हुँदा केपी शर्मा ओलीको नेतृत्वमा सरकार थियो । त्यसबेला गृह मन्त्री रमेश लेखक, गृह सचिव गोकर्णमणि दुवाडी, आईजीपी चन्द्रकुवेर खापुङ र काठमाडौँका प्रजिअ छविलाल रिजाल थिए ।




