नवनिर्वाचित सांसदको पहिलो बैठक सिंहदरबारको नयाँ भवनमा
काठमाडौँ । प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भई मत परिणाम धमाधम आउन थालेको छ । निर्वाचन परिणामसँगै निर्वाचित जनप्रतिनिधिहरूको बैठक सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनमा नै बस्ने गरी तीव्र तयारी भइरहेको छ ।
संसद् भवनका सबै काम तत्काल सम्पन्न हुन नसके पनि प्रतिनिधि सभा बैठक सञ्चालन गर्न मिल्ने गरी आवश्यक पूर्वाधार निर्माण भइरहेको सहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ । विभागका अनुसार सुरुमा न्यूनतम सेवासहितको संसद् भवन सञ्चालनमा ल्याइने छ । २०७९ को निर्वाचनबाट निर्वाचित प्रतिनिधि सभा बैठक सिंहदरबारमै निर्माणाधीन नयाँ संसद् भवनमा सञ्चालन गर्ने उद्देश्य रहे पनि अहिलेसम्म निर्माण सम्पन्न हुन सकेको छैन ।
भाद्र २४ गतेको जेन्जी आन्दोलन भन्दा पहिले नयाँ बानेश्वरस्थित वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बस्दै आएको संसद् बैठक आन्दोलनका क्रममा आगजनी गरिएसँगै पूर्णरुपमा क्षति पुगेको छ। जसका कारण पनि सिंहदरबार भित्र निर्माण गरिएको संसद् भवनमा अहिलेको नवनिर्वाचित जनप्रतिनिधिहरूको बैठक बस्ने गरी आवश्यक पूर्वाधारको निर्माण र व्यवस्थापन भइरहेको छ ।
संसद् भवन निर्माण आयोजनाको अहिलेसम्मको समग्र भौतिक प्रगति ९३ प्रतिशत रहेको छ ।




