निर्वाचनको तयारी अन्तिम चरणमा, मतगणनास्थल तयार हुँदै
काठमाडौं । बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन तयारी अन्तिम चरणमा पुगेको छ । ७७ वटै जिल्ला निर्वाचन कार्यालयबाट निर्वाचनमा आवश्यक पर्ने सबै निर्वाचन सामाग्री लिएर मतदान केन्द्रमा खटिएका कर्मचारी पुगिसकेका छन् ।
सुरक्षा विश्लेषणका आधारमा मतदानस्थलको सुरक्षा प्रबन्धलाई चुस्त र प्रभावकारी बनाइएको छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागको जनशक्ति निर्वाचनको सुरक्षामा खटिएका छन् । एकीकृत निर्वाचन सुरक्षा योजनाबमोजिम नेपाल प्रहरी मतदानस्थलको भित्री घेराको सुरक्षामा खटिनेछन् ।

निर्वाचन प्रहरी पहिलो तहको सुरक्षा घेरामा, दोस्रो तहको सुरक्षा घेरामा सशस्त्र प्रहरी बल र सुरक्षा घेराको बाहिरी तहबाट नेपाली सेनाले सुरक्षा प्रदान गर्नेछन् । निर्वाचनलाई लक्षित गरेर यहाँ मदिरा बिक्री वितरणमा रोक लगाइएको छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष तथा भयरहित वातावरणमा सम्पन्न गराउन शुक्रबारसम्म मदिरा बिक्रीवितरण निषेध गरिएको हो। यस्तै मतगणनास्थल तयार भइरहेको छ ।
मतदान सम्पन्न भएपछि मतगणना गरिने स्थानको टुङ्गो लगाएर आवश्यक व्यवस्थापन भइरहेको हो । मतगणनास्थलमा आवश्यक सुरक्षा प्रबन्ध, सिसी क्यामेरा जडान, तारजाली, अवलोकनकक्ष तथा उम्मेदवार/प्रतिनिधि बस्ने व्यवस्था मिलाइने छ । त्यस्तै मतपेटिका सुरक्षित रूपमा राख्नका लागि कडा सुरक्षासहितको कोठा तयारी गरिनेछ ।

बिहीबार हुने निर्वाचनका लागि सोमबार मध्यरातदेखि मौन अवधि सुरु भएको छ । निर्वाचन आचारसंहिताअनुसार मतदानको दिन सुरु हुनु ४८ घण्टाअघिदेखि मतदान नसकिएसम्म कायम हुने मौन अवधिमा प्रचार, भाषण, भेला, छलफल, समीक्षालगायत निर्वाचनलाई प्रभाव पार्ने गरी कुनै पनि गतिविधि गर्न पाइने छैन ।


