लाभांश प्रस्ताव पारित गर्दै सकियो एशियन लाइफ इन्स्योरेन्सको साधारण सभा
काठमाडौँ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण सभा लाभांश प्रस्ताव पारित गर्दै सकिएको छ । बाराको सिमरास्थित होटल क्लासिक प्लाजामा २०८२ फागुन ११ गते आयोजित १८औँ बार्षिक साधारण सभा चुक्ता पूँजीको ५ प्रतिशतले हुन आउने लाभांश प्रस्ताव पारित गर्दै सकिएको हो ।
सभाले आर्थिक वर्ष २०८१/०८२ सम्मको सञ्चित नाफाबाट यस कम्पनीको चुक्ता पूँजीको १०.५२६३ प्रतिशत (५ प्रतिशत बोनश सेयर समेत) लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मतले पारित गरेको छ ।
आर्थिक बर्ष २०८१/०८२ का लागि चुक्ता पूँजीको ५ प्रतिशतले हुन आउने २५ करोड ५७ हजार ९६० रुपैयाँ बराबरको बोनश सेयर र ५.५२६३ प्रतिशत (लाभांशमा लाग्ने करसमेत)ले हुन आउने २७ करोड ६३ लाख ७९ हजार ८५० रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव साधारण सभाले पारित गरेको हो ।
साथै, साधारण सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष दिपक कुमार श्रेष्ठले पेश गरेको आ.व.२०८१/०८२ को वार्षिक प्रतिवेदन साधारण सभाले अनुमोदन गरेको छ ।
यसैगरी आर्थिक वर्ष.२०८१/८२ (एनएफआरएस बमोजिम) असार मसान्तसम्मको वासलात,नाफा/नोक्सान हिसाब, सोही अवधिको नगद प्रवाहको विवरण र सो सम्बन्धि संलग्न अनुसूचिहरू माथि छलफल सहित पारित भएको छ ।
साधारण सभाबाट आर्थिक वर्ष २०८२/०८३ को लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने सम्बन्धि प्रस्ताव समेत पारित भएको छ ।
साधारण सभाको निर्णय कार्यान्वयनको लागि कम्पनीको प्रबन्ध पत्र तथा नियमावलीमा संशोधन गर्न तथा सम्बन्धित निकायबाट प्रबन्ध पत्र तथा नियमावलीमा संशोधन तथा प्राप्त हुने निर्देशन कार्यान्वयन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत पारित भएको छ ।




