इन्फिनिक्सले सन् २०२५ मा १३% सेल–आउट वृद्धि गर्दै बजारमा उपस्थिति बनायो बलियो
काठमाडौं । सन् २०२६ को सुरुवातसँगै इन्फिनिक्स नेपालले सन् २०२५ मा हासिल गरेको व्यवसायिक उपलब्धि सार्वजनिक गरेको छ। कम्पनीले गत वर्ष सेल–आउटमा १३ प्रतिशतको उल्लेखनीय वृद्धि गर्दै देशभरका बजारमा माग र खुद्रा कारोबार दुवैलाई सुदृढ बनाएको जनाएको छ।
कम्पनीका अनुसार सन् २०२५ मा उत्पादन आपूर्ति ३५ प्रतिशतले बढाइएको छ। केन्द्रीय, पश्चिमी र पूर्वी क्षेत्रसम्म वितरण सञ्जाल विस्तार गरिँदा बजारमा फोनको उपलब्धता उल्लेखनीय रूपमा सुधार भएको छ। यसले बढ्दो मागलाई छिटो र प्रभावकारी रूपमा सम्बोधन गर्न मद्दत पुगेको कम्पनीको दाबी छ।
सन् २०२५ का प्रमुख उपलब्धिमध्ये खुद्रा बजारमा बिक्री प्रक्रिया सुदृढीकरण, स्टोरस्तरमा ग्राहकसँगको सम्पर्क विस्तार तथा राष्ट्रिय एवं क्षेत्रीय वितरकसँगको सहकार्य मजबुत बनाउनु रहेका छन्। युवामैत्री तथा उच्च प्रदर्शन दिने स्मार्टफोनप्रति उपभोक्ताको आकर्षण बढ्दै जाँदा ब्रान्डप्रति विश्वास पनि उकासिएको कम्पनीले जनाएको छ।
कम्पनीका कन्ट्री म्यानेजर पियुष गिरीका अनुसार सन् २०२५ को नतिजाले स्पष्ट लक्ष्य र अनुशासित कार्यशैलीलाई प्रतिबिम्बित गरेको छ। बजारमा उत्पादन उपलब्ध गराउनु मात्र नभई हरेक स्टोरमा गुणस्तरीय बिक्री सुनिश्चित गर्नु र बजारको मागअनुसार छिटो प्रतिक्रिया दिनेलाई प्राथमिकतामा राखिएको उनले बताए।
गत वर्ष कम्पनीले बजारमा छिटो सक्रियता, डिलर तथा रिटेल पार्टनरलाई थप सहयोग, युवालाई लक्षित ब्रान्ड प्रस्तुति तथा गेमिङ र उच्च प्रदर्शन केन्द्रित स्मार्टफोन विकासमा विशेष ध्यान दिएको थियो।
सन् २०२६ मा कम्पनीले बिक्रीको गतिलाई अझ तीव्र बनाउने, बजार कभरेजलाई व्यवस्थित गर्ने र नेपालका बढ्दो स्मार्टफोन प्रयोगकर्तालाई गुणस्तरीय तथा किफायती प्रविधि निरन्तर उपलब्ध गराउने लक्ष्य लिएको जनाएको छ। कम्पनीले दीगो बजार नेतृत्वतर्फ अघि बढ्ने रणनीति सार्वजनिक गरेको छ।




