भुवनलाई सूर्य नेपाल काठमाडौं ओपनको उपाधि
काठमाडौं। अन्तर्गतको चौथो प्रतियोगिता सूर्य नेपाल काठमाडौं ओपनको उपाधि भुवन नगरकोटीले जितेका छन्। आज इभन-पार ६८ खेलेका उनले समग्रमा ६-अन्डर २ सय ६६ सहित उपाधि जितेका हुन्। उनले दिनेश प्रजापति र सञ्जय लामालाई ४ स्ट्रोकले हराउँदै लगातार दोस्रो पटक उपाधि जिते। उपाधिसँगै १ लाख ५० हजार नगद पुरस्कार प्राप्त गरे। भुवनको यो करियरको १३ औं उपाधि हो।
समग्रमा २-अन्डर २ सय ७० को स्कोरमा सञ्जय र दिनेशले संयुक्तरुपमा दोस्रो स्थान हात पारे। सञ्जयले आज १-ओभर ६९ र दिनेशले ३-ओभर ७१ मा आजको खेल सकाए। उनीहरूले समान ९५ हजार नगद पुरस्कार हात पारे।
समग्रमा १-अन्डर २ सय ७१ स्कोर जोडेका नेपाल नम्बर एक गल्फर निरज तामाङ, रवि खड्का र रामे मगरले संयुक्तरुपमा चौथो स्थान बाँडे। निरजलर आज १-ओभर ६९, रविले २-ओभर ७० र रामेले ३-ओभर ७१ को स्कोर कार्ड बनाए। उनीहरूलाई नगद ६३ हजार पुरस्कार वितरण गरियो।
आज ३-अन्डर ६५ को स्कोर निकाल्दै समग्रमा २-ओभर २ सय ७४ का साथ तोरण विक्रम शाहीले सातौं स्थान हात पारे। उनले ४७ हजार प्राप्त गरे। इभन-पार ६८ खेलेको जयरामले समग्रमा ३-ओभर २ सय ७५ सहित आठौं स्थानमा प्रतियोगिता सकाए। उनले ४१ हजार आफ्नो नाममा लेखाए।
यस्तै ५-ओभर २ सय ७७ सहित भुवन कुमार रोक्का र टंक बहादुर कार्कीले नवौं स्थान बाँडे। भुवनले २-अन्डर ६६ र टंकले २-ओभर ७० मा अन्तिम दिनको खेल पुरा गरे। उनीहरूले ३३ हजार ५ सय नगद पुरस्कार पाए।
एमेच्योरतर्फ राष्ट्रिय टिमका खेलाडी राहुल विश्वकर्माले स्वप्निल भट्टराईलाई ८ स्ट्रोकले हराउँदै उपाधि जिते। आज ३-अन्डर ६५ खेलेका राहुलले समग्रमा इभन-पार २ सय ७२ स्कोर गरे। आज ३-ओभर ७१ खेलेका स्वप्निलले समग्रमा ८-ओभर २ सय ८० स्कोर जोडे। समग्रमा ११-ओभर २ सय ८२ बनाएका महेन्द्र फगामी तेस्रो भए। आज उनले ४-ओभर ७२ को स्कोर दर्ज गरे।
अन्तिम १८ होलको खेलको सुरूवात गर्दा भुवन दिनेशभन्दा मात्र १ स्ट्रोकले अगाडि थिए। तर अन्य खेलाडीले उल्लेखनीय प्रदर्शन गर्न नसक्दा भुवनको जित सहज बन्यो। भुवनले फ्रन्ट र ब्याक नाइन इभन-पार ३४ मा सकाए। उनले पहिलो, चौथो र १७औं होलमा बर्डी प्रहार गरे। छैटौं, आठौं र १८औं होलमा एक-एक सट खेर फाले।
सञ्जयले सातौं होलमा बोगी प्रहार गर्दा बाकी होलमा पार जोगाउँदै फ्रन्ट नाइन १-ओभर ३५ मा फ्रन्ट नाइन सकाए। यसपछि १३औं होलको बर्डीका विरुद्ध १८औं होलको बोगीले ब्याक नाइन इभन-पार ३४ खेले।
दिनेशले पहिलो र छैटौं होलको बोगीले फ्रन्ट नाइन २-ओभर ३६ मा सकाए। यसपछि १०औं, १३औं र १५औं होलमा एक-एक सट बचाए। तर यसपछि ११औं, १२औं, १४औं र १६औं होलमा बोगी खेपे।
विजयी खेलाडीहरुलाई सूर्य नेपाल प्रालिका डेप्युटी जनरल म्यानेजर केशव प्रधान, नेपाल प्रोफेशनल गल्फर्स संघ (एनपीजीए) का अध्यक्ष रविन्द्रमान श्रेष्ठ र रोयल नेपाल गल्फ क्लबका क्याप्टेन मिथुन राईले पुरस्कार वितरण गरे। दिने प्रतियोगितामा ३४ जना व्यावसायिक तथा २१ जना एमेच्योर गरी कुल ५५ गल्फरले सहभागिता जनाएका थिए। खेलाडीहरूले कुल ८ लाख ७५ हजार रुपैयाँको लागि प्रतिस्पर्धा गरे। शीर्ष १८ स्थान सम्म रहने खेलाडी नगद पुरस्कारको हकदार बने।



