रवि लामिछानेको आक्रामक चुनावी दौडाहा: खुट्टाको चोट बोकेरै तीन दिनमा ९ जिल्लाको ‘म्याराथन’ भ्रमण सम्पन्न
सुबास शर्मा
आगामी २०८२ फागुन २१ गतेका लागि तय गरिएको आम निर्वाचनको मिति नजिकिएसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो राजनीतिक सक्रियतालाई अर्को उचाइमा पुर्याएका छन्। पछिल्लो समय खुट्टामा लागेको चोट पूर्ण रूपमा निको भइनसकेको अवस्थामा पनि लामिछानेले त्यसको प्रवाह नगरी मात्र तीन दिनको अवधिमा ९ वटा जिल्लाका सबै निर्वाचन क्षेत्रहरूको सघन भ्रमण सम्पन्न गरेका हुन्।
हिँडडुल गर्न असहज भइरहेको र चिकित्सकहरूले आराम गर्न सुझाव दिएको भए पनि लामिछानेले “देश र जनताको भविष्यका लागि यो शारीरिक कष्ट गौण भएको” भन्दै चुनावी दौडाहालाई निरन्तरता दिएका छन्। उनले आफ्नो यो विशेष अभियानको सुरुवात चितवनबाट गरेका थिए। चितवनका विभिन्न निर्वाचन क्षेत्रमा मतदातासँग संवाद गरेलगत्तै उनी नवलपरासी, रुपन्देही, पुर्वी नवलपुर हुँदै कास्की, स्याङ्जा, पाल्पा, गुल्मी र अर्घाखाँचीको यात्रामा लागेका थिए। कास्की र स्याङ्जाका कार्यक्रमहरूमा उनी निकै थकित देखिए पनि जनतासँगको भेटघाट र संवादमा भने उत्तिकै उत्साहित सुनिन्थे। पाल्पाको ऐतिहासिक सहरदेखि गुल्मी र अर्घाखाँचीका दुर्गम गाउँसम्म ऊनी उक्त क्षेत्रका उम्मेदवार संगसैगै हिडेका थिए। यो बीचमा उनलेे यी ९ जिल्लाका लाखौं मतदाता र समर्थकहरु संग भेटघाट गरिसकेका छन्। कतिपय जिल्लाहरुमा उनलाई हेर्न रातको ९/१० बजेसम्म ठुलो जनसागर पर्खेर बसेका थिए।
यसपटकको निर्वाचनमा काठमाडौँ महानगरका पूर्व मेयर बालेन शाह रास्वपामा जोडिएपछी रविको आत्मबल अझ बढाएको छ। चितवन, रुपन्देही, पूर्वी नवलपुर, नवलपरासी, कास्की, स्याङ्जा, पाल्पा, गुल्मी र अर्घाखाँचीका सबै निर्वाचन क्षेत्रहरूमा पुगेर उनले यसपटक पुराना दलहरूको “किल्ला” भत्काउने दाबी गरेका छन्।
असहज शारीरिक अवस्थामा पनि लामिछानेले देखाएको यो “दौडधुप” ले उनका कार्यकर्ताहरूमा नयाँ उर्जा भरेको छ। विपक्षीहरूले उनको स्वास्थ्य र कानुनी मुद्दाहरूलाई लिएर टिप्पणी गरिरहँदा लामिछानेले भने घाइते खुट्टाकै सहारामा गाउँ-गाउँ पुगेर “परिवर्तनको पक्षमा उभिन” मतदातालाई अपिल गरिरहेका छन्। उनले यो ९ जिल्लाको यात्रालाई “जनताको विश्वासको जग” भन्दै बाँकी जिल्लाहरूमा पनि चाँडै पुग्ने प्रतिबद्धता जनाएका छन्।




