नागरिक लगानी कोषको नाफा ६६ करोड ५३ लाख
काठमाडौं । नागरिक लगानी कोष (सीआईटी)ले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।
चालु आर्थिक वर्षको पुष मसान्तसम्म कम्पनीले ६६ करोड ५३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आवको तुलनामा ६.९२ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा कम्पनीले ६२ करोड २२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
समिक्षा अवधिमा कम्पनीको ब्याज आम्दानी १७ करोड ६४ लाख रुपैयाँ रहेको छ । यो गत आवको तुलनामा १०.२० प्रतिशतले कम हो। गत आवको सोही अवधिमा कम्पनीले १९ करोड ३३ लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो।
त्यस्तै, पुष मसान्तसम्म कम्पनीको कुल आम्दानी १ अर्ब ६ करोड रुपैयाँ रहेको छ । यो गत आवको तुलनामा २.८६ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा कम्पनीको कुल आम्दानी १ अर्ब ३ करोड रुपैयाँ रहेको थियो ।
कम्पनीले सेवा शुल्क तथा कमिसनबापत ८३ करोड ९४ लाख रुपैयाँ आम्दानी गरेको छ। यो गत आवको तुलनामा ३.६२ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा कम्पनीले ८१ करोड १ लाख रुपैयाँ आम्दानी गरेको थियो।
कम्पनीको २० करोड ८६ लाख रुपैयाँ रहेको कुल खर्च घटेर १८ करोड १८ लाखमा सीमित बनेको छ ।
६ अर्ब ८० करोड ५७ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा २ खर्ब ९४ अर्ब ६५ करोड ३३ लाख रुपैयाँ रहेको छ ।
कोषले २ खर्ब ९८ अर्ब रुपैयाँबराबरको कुल लगानी गरेको छ । जसमा मुद्धती निक्षेपमा १ खर्ब ४५ अर्ब ,नेपाल सरकारको ऋणपत्रमा १ अर्ब ३१ करोड ,समयकालिन कर्जामा २६ अर्ब ३१ करोड ,संगठित संस्थाको सेयरमा ३१ अर्ब ६८ करोड र सहायक कम्पनीमा २ अर्ब ७२ करोड रुपैयाँ लगानी रहेको छ । कोषको जगेडा कोषको आकार १२ अर्ब २८ करोड रुपैयाँबराबर रहेको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी १९.५५ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १४२.४० रुपैयाँ र लगानी प्रतिफल ४.४९ प्रतिशत कायम भएको छ ।




