पश्चिम नवलपरासीमा एक ढिक्का भएर चुनावमा होमियो कांग्रेस, विनोद चौधरी भन्छन ‘सबै मिलेर पश्चिम नवलपरासीको विकास अभियानलाई पूर्णता दिनुछ’
पश्चिम नवलपरासी । प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै गर्दा पश्चिम नवलपरासीमा नेपाली कांग्रेस एक ढिक्का भएर चुनावी अभियानमा होमिएको छ । विगतमा आन्तरिक विवाद र विभाजनका कारण चर्चामा रहने यो जिल्लामा यसपटक कांग्रेसभित्र उल्लेखनीय एकता देखिएको छ ।
पश्चिम नवलपरासी क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरी दोस्रो पटक प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनेका छन् । यसअघि पनि यही क्षेत्रबाट निर्वाचित सांसद रहेका चौधरी पार्टीको साझा उम्मेदवारका रूपमा चुनावी मैदानमा उत्रिएका हुन् ।
लामो समयसम्म पार्टीभित्र विवाद सिर्जना गर्दै आएका तत्कालीन नेपाली कांग्रेस लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनाल टिकट नपाएपछि राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै जिल्लामा कांग्रेसभित्रको असमझदारी अन्त्य भएको स्थानीय नेताहरूको भनाइ छ । खनालको बहिर्गमनपछि कांग्रेस संगठन एकताबद्ध भएको र चुनावी गतिविधि थप सशक्त बनेको देखिएको छ ।
पश्चिम नवलपरासीका प्रदेश सभा सदस्य विश्वप्रेम पाठकले पार्टी एक ढिक्का भएर अघि बढ्नु जिल्लाका लागि सकारात्मक र सुखद सन्देश भएको बताए । उनले कांग्रेसको एकताले चुनावी परिणाम मात्र होइन, जिल्लाको समग्र विकास प्रक्रियालाई समेत गति दिने विश्वास व्यक्त गरे ।

त्यसैगरी नेपाली कांग्रेस नवलपरासीका जिल्ला सचिव कुलदीप आचार्यले पार्टी एकताबद्ध भएको अवस्थामा कांग्रेस उम्मेदवारलाई पराजित गर्न कसैले नसक्ने दाबी गरे । उनका अनुसार वडा, जिल्ला र प्रदेश तहका सबै नेता–कार्यकर्ता एउटै उद्देश्यका साथ मैदानमा उत्रिएका छन् ।
पार्टीका केन्द्रीय सदस्य, निवर्तमान सांसद, जिल्ला तथा वडा तहका नेता–कार्यकर्ता, बुद्धिजीवी र आम कांग्रेस कार्यकर्ताको साथ र सहयोगमा विनोद चौधरी चुनावी अभियानमा सक्रिय छन् । आज मात्रै चौधरीले जिल्लाका केन्द्रीय सदस्यहरू, पूर्वसांसद, पार्टी नेता तथा वडा तहका कार्यकर्तासँग भेटघाट तथा छलफल गरेका छन् ।

छलफलपछि प्रतिक्रिया दिँदै चौधरीले पार्टी एकताबद्ध भएर चुनावमा होमिएको देख्दा आफू निकै उत्साहित र खुसी भएको बताए । “अघिल्लो चुनावमा जिल्लाभित्रकै केही नेताको असहयोगका बाबजुद पनि नतिजा हाम्रो पक्षमा आयो । यसपटक त पार्टी पूर्ण रूपमा एकताबद्ध छ, सबै मिलेर पश्चिम नवलपरासीको विकास अभियानलाई पूर्णता दिनुपर्छ,” उनले भने ।

चौधरीले कसैलाई काखा कसैलाई पाखा नगरी सबैसँग हातेमालो गर्दै पश्चिम नवलपरासीको विकासमा अघि बढ्ने प्रतिबद्धता पनि व्यक्त गरे । कांग्रेसभित्र देखिएको यो एकताले जिल्लामा चुनावी माहोललाई थप सकारात्मक बनाएको स्थानीय राजनीतिक विश्लेषकहरूको टिप्पणी छ ।



