प्रिमियरमा अन्तर्राष्ट्रिय बास्केटबल प्रशिक्षक नेल्स हकिन्सनसँग विशेष मास्टरक्लास
काठमाडौं । मास्टरक्लासमा हकिन्सनले आफ्नो लामो अन्तर्राष्ट्रिय प्रशिक्षण अनुभवका आधारमा खेलाडीहरूलाई सहनशक्ति विकास, खेल बुझाइ, आधारभूत सीप सुदृढ गर्ने तरिका तथा वास्तविक खेल परिस्थितिमा प्रयोग गर्न सकिने व्यावहारिक प्रविधिबारे प्रशिक्षण दिए ।
काठमाडौँ — प्रिमियर इन्टरनेसनल आईबी कन्टिन्युम स्कुलले अन्तर्राष्ट्रिय ख्यातिप्राप्त बास्केटबल प्रशिक्षक, मेन्टर तथा खेल विकास क्षेत्रका विज्ञ नेल्स हकिन्सनद्वारा विशेष बास्केटबल मास्टरक्लास आयोजना गरेको छ ।
कार्यक्रममा प्रिमियरका छात्रा तथा छात्र बास्केटबल टिमसँगै प्रिमियर स्पोर्ट्स एकेडेमीका खेलाडीहरूको सहभागिता रहेको थियो, जसले विद्यालयको खेलमार्फत समग्र विद्यार्थी विकासप्रतिको प्रतिबद्धता झल्काएको छ ।
ट्रिनिटी वेस्टर्न र सिएटल प्यासिफिक विश्वविद्यालयमा खेलाडी र प्रशिक्षकका रूपमा काम गरेका नेल्स हकिन्सनले पछि फिबा ओलम्पिक सोलिडारिटी र यूएसए बास्केटबल मा नेतृत्वदायी भूमिका निभाउँदै विश्वभर बास्केटबल विकासमा मार्गदर्शन गर्दै आएका छन् ।
एक घण्टाको मास्टरक्लासमा हकिन्सनले आफ्नो लामो अन्तर्राष्ट्रिय प्रशिक्षण अनुभवका आधारमा खेलाडीहरूलाई सहनशक्ति विकास, खेल बुझाइ (गेम इन्टेलिजेन्स), आधारभूत सीप सुदृढ गर्ने तरिका तथा वास्तविक खेल परिस्थितिमा प्रयोग गर्न सकिने व्यावहारिक प्रविधिबारे प्रशिक्षण दिए । साथै, उनले चुनौती पार गर्दै अघि बढ्ने, अनुशासनमा रहने र उपलब्ध अवसरहरूको पूर्ण उपयोग गर्ने महत्त्वमा विशेष जोड दिए ।
प्रशिक्षणका क्रममा हकिन्सनले खेलको जित–हारको अंकभन्दा बाहिर सोच्न प्रेरित गर्दै खेलाडीको सोच, तयारी, दैनिक बानी–व्यवहार र मैदानबाहिर गरिने निर्णयहरूले खेल प्रदर्शनमा पार्ने प्रभावबारे गहिरो सन्देश दिए । सहभागी विद्यार्थीहरूले यस अनुभवलाई प्रेरणादायी भएको बताउँदै जितभन्दा दीर्घकालीन विकास, आत्मअनुशासन र जिम्मेवारीबोधमा ध्यान केन्द्रित गर्न सहयोग पुगेको साझा गरे ।
यो मास्टरक्लास नेपाल विश्वविद्यालय खेलकुद संघ (युनिभर्सिटी स्पोर्ट्स एसोसिएसन अफ नेपाल) को सहकार्य र समर्थनमा सम्भव भएको हो । यस साझेदारीले प्रिमियरका युवा खेलाडीहरूलाई अन्तर्राष्ट्रिय स्तरको सिकाइ अनुभव प्राप्त गर्ने अवसर प्रदान गरेको विद्यालयले जनाएको छ ।
प्रिमियर इन्टरनेशनल आईबी कन्टिन्युम स्कुलमा खेल शिक्षा प्रतिस्पर्धामा मात्र सीमित छैन, यो चरित्र निर्माण र जीवन सीप विकाससँग गहिरो रूपमा जोडिएको छ । अनुभवी अन्तर्राष्ट्रिय मेन्टरहरूसँग विद्यार्थीलाई जोड्दै विद्यालयले आत्मविश्वासी, अनुशासित र विश्लेषणात्मक सोच भएका विद्यार्थी तयार गर्ने लक्ष्यलाई निरन्तर अघि बढाइरहेको छ । विद्यालयका अनुसार खेल र जीवन दुवैमा सफलता निरन्तर प्रयास, सही सोच र व्यक्तित्व विकासबाट सम्भव हुन्छ ।



